दि नेपाल डिस्टीलरिजद्वारा उखु खेतीको प्रवद्र्धनको लागि विशेष पहलको थालनी

काठमाण्डौं । दि नेपाल डिस्टिलरिज प्रालिले मधेश प्रदेशमा उखु खेतीको प्रवद्र्धन, यसमा किसानहरूको आकर्षण वृद्धि तथा कृषि क्षेत्रको बृहत्तर विकास गर्न विशेष पहल शुरु गरेको छ । कम्पनीले नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलसँगको सहकार्यमा उक्त पहल सुरु गरेको हो । कम्पनीका अनुसार आर्थिक व्यवस्थापन तथा नेपाल फार्मर्स एडभाइजरी काउन्सिलको प्राविधिक सहयोगमा मधेश प्रदेशमा मुख्य नगदेबालीको रुपमा रहेको उखु खेती प्रवद्र्धनका लागि सीमान्तकृत समुदायका कृषकहरूको सीप, क्षमता तथा आय अभिवृद्धि सम्बन्धी विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। धनुषा जिल्लाको नक्टाझिजस्थित कृषि विकास निर्देशनालय र कृषि व्यवसाय प्रवद्र्धनको सहयोगमा आयोजित कार्यक्रममा सिरहा, सप्तरी, महोत्तरी र धनुषा जिल्लाका अगुवा किसानहरूको सहभागिता थियो ।

संस्थागत सामाजिक उत्तरदायीत्व(सीएसआर)अन्तर्गत आयोजित कार्यक्रममा कम्पनीका प्रमुख प्रशासकीय अधिकृत जनकराज रेग्मीले उखुबाट चिनी उत्पादन मात्र नभई यसका बहुआयामिक गुणबारे किसानहरूलाई जानकारी दिएका थिए । साथै उनले उखु खेतीको विस्तार, प्रवद्र्धन एवम् संरक्षण गर्न कम्पनीले यस्तो खालको कार्यक्रम आयोजना गर्दै जाने पनि बताए । उनले भने, ‘रम उत्पादनको महत्वपूर्ण कच्चा पदार्थ मोलासेस पनि उखुबाटै बन्ने गर्छ । यसकारण पनि हाम्रो उखु किसानसँग प्रगाढ सम्बन्ध छ । हामी उखु–किसानको समष्टिगत स्तरोन्नतिमा सहयोग पु¥याउन सक्रियताका साथ भविष्यमा दीर्घकालिन साझेदारीपूर्ण कार्ययोजनाहरू अघि ल्याउन प्रतिबद्ध छौं । सन् १९५९ देखि नेपालमा व्यावसायिक रूपमा पेय पदार्थ उत्पादन गर्दै आइरहेको भन्दै उनले नेपाल डिस्टिलरिजले स्वदेशी भूमिमा उत्पादित उखुका उत्पादनहरु खपत गर्दै आइरहेको पनि बताए । कार्यक्रम मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले उखु किसानले वर्षौदेखि समयमा भुक्तानी नपाउने, मल नपाउने, बिउ नपाउनेलगायतका समस्या भोग्दै आएको बताउँदै उखु खेतीको विकास गर्न मधेशका आठवटै जिल्लालाई समेट्ने गरी प्रदेश उखु विकास बोर्ड गठन गर्न गृहकार्य भइरहेको जानकारी दिए ।

त्यस्तै, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले उखु किसानको समग्र माग र आवश्यकतालाई सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै हरेक नगरपालिकामा कृषि ज्ञान केन्द्र स्थापना गरी कृषि क्षेत्रको विकास गरिने बताए । कार्यक्रममा नेपाल फार्मर्स एडभाइजरी काउन्सिलका प्रबन्ध निर्देशक डा विमलकुमार निर्मलले नेपालमा उखु उत्पादनमा उच्च प्रतिफलको सम्भावना रहेको तथा गुँड, खुदो, चिनीमात्र नभई उखु पेलेर बाँकी रहेको भागबाट स्पिरिटलगायतका पेय पदार्थ बनाउन सकिने बताए ।
सोही कार्यक्रममा उनले मधेश प्रदेशमा हालको उखु खेतीको अवस्था, समस्या र सम्भावना बारे पनि प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा पूर्व कृषि सचिव एवं नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलका अध्यक्ष डा योगेन्द्रकुमार कार्की, काउन्सिलका कार्यक्रम संयोजक नारायण श्रेष्ठ, महेन्द्र पन्त, दिलराज यादव, रामकृष्ण रजक र अनिसुर रहमान अन्सारीलगायतको सहभागिता थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *