सङ्कटमा माटोका भाँडा व्यवसायी

कैलाली। पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि माटोबाट निर्मित भाँडाले बजार पाउन छाडेको छ । आधुनिकतासँगै बजारमा विभिन्न आकर्षक स्वरुपमा प्लास्टिकका रङ्गीविरङ्गी भाँडा सहजै पाइन थालेपछि माटोका भाँडाले बजार पाउन छाडेको हो ।

धनगढी उपमहानगरपालिका–२ कृष्णनगरकी माटाका भाँडा व्यवसायी नीलमदेवी कलवाराले पहिलेको तुलनामा अहिले माटोबाट बनेका भाँडा बिक्री हुन छाडेको बताए । “माटोका भाँडाको व्यापार पहिले राम्रो हुन्थ्यो । अहिले खासै छैन”, उनले भने, “केही वर्ष पहिले गर्मी सिजनमा दिनको पाँच हजारदेखि १० हजारसम्म कारोबार हुनेमा अहिले व्यापार ह्वात्तै घटेको छ ।” अहिले दैनिक एक हजारदेखि तीन हजारसम्म बिक्री हुने गरेको उनले जानकारी दिए ।

लामो सयदेखि व्यवसाय गर्दै आएकी कलवाराले माटोका भाँडाको व्यवसाय घट्दै गएको भन्दै दुःखेको पोखे । उनले भने, “माटोका भाँडाको व्यवसायबाट घर भाडा मात्र तिर्न ठिक्क हुन्छ । पहिले कारोबार राम्रो हुने गरेकाले बचत पनि हुन्थ्यो । जीविकोपार्जनमा केही समस्या थिएन । आजभोलि आम्दानी घटेसँगै खर्च चलाउन समस्या हुन थालेको छ ।” माटोका भाँडाको व्यवासायबाट खर्च चलाउँन मुस्किल भएपछि अहिले ठेलामा गन्ना जुस र अण्डाको पनि व्यवसाय सुरु गरेको कलवाराले जानकारी दिए । पछिल्लो समय माटोका भाँडा बनाउने माटो पाउन मुस्किल हुन थालेपछि भारतको लख्खिमपुरलगायत सहरबाट माटोबाट बनेका भाँडा ल्याएर बिक्री गर्ने गरेको उनको भनाइ छ ।

“पहिले माटोका भाँडा बनाउने भट्टा यहाँ थुप्रै थिए । अहिले माटो पाउन नै गाह्रो छ, पाए पनि महँगो हुन थालेपछि बाहिरबाट बनेका भाँडा आयात गरी बिक्री गर्ने गरेका छौँ”, कलवाराले भने । प्लास्टिकका भाँडा तथा अन्य सामग्री प्रयोग गर्न सहज हुने र जहाँ पनि पाइने हुँदा परम्परागत माटाका भाँडा विस्थापित हुने अवस्थामा पुगेको माटोका भाँडा बिक्री गर्दै आएका व्यवसायी अरविनप्रसाद कलवाराले बताए । “पहिले भन्दा अहिले धेरै व्यापार घटेको छ । पेसा नै लोप हुन्छ की भन्ने चिन्ता छ”, उनले भने । माटोबाट निर्मित भाँडा टुटफुट पनि बढी हुने भएकाले प्रयोग गर्नेको सङ्ख्या कम भएको अरविनप्रसादको भनाइ छ । घरघरमा सिमेन्टको गमला लगेर बिक्री गर्ने गरिएकाले पनि माटोबाट बनेका गमलाको बिक्री घटेको उनले बताए ।

ग्राग्री प्रतिवटा दुई सयदेखी पाँच सय, गमला प्रतिवटा एक सयदेखि दुई सय, खुत्रुक्के प्रतिवटा ३० देखि तीन सय, कलश प्रतिवटा १५ देखि ५० मा बिक्री भइरहेको उनले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *