पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन- कांग्रेस नेता महरको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको ढाड सेक्नेगरी भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि कल्याणकारी बन्न सरकारसँग आग्रह गरेका छन् । उपभोक्ता मञ्चले बढ्दो महँगीका विषयमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता महरले पछिल्लो केही महिना यता अस्वाभाविक मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढेर उपभोक्ता मारमा परेको बताए ।

सरकारले आइतबार रातिदेखि लागू हुनेगरी गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता गरिनुपर्ने उनको माग छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै अन्य दैनिक उपभोग्य वस्तुको मूल्य पनि वृद्धि हुने भएकाले राज्य कल्याणकारी बन्नुपर्ने उनी बताउँछन् । ‘सरकारको काम व्यापार गरेर नाफा खाने मात्र होइन । समस्यामा परेका बेला कल्याणकारी भावना राखेर जनतालाई सहुलियत दिनु पनि हो । पेट्रोलियम पदार्थमा लगाइएको ट्याक्स मात्रै खारेज गर्न सके आकासिएको मूल्यवृद्धिमा स्वतः गिरावट आउने छ,’ नेता महर भन्छन् । लोकतान्त्रिक सरकारले कल्याणकारी व्यवस्थाका लागि कतिपय अवस्थामा कठोर निर्णय पनि लिनसक्नुपर्ने उनको धारणा छ ।

सरकार कूटनीतिक माध्यमबाट पनि नेपालमा पेट्रोलियम पदार्थको सहज व्यवस्थापनमा लाग्नुपर्ने महरको भनाइ छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा प्रत्येक कुराको ढुवानी बढ्ने र यसले जनताको दैनिक उपभोग्य वस्तुको मूल्य आकासिने महरले बताए । अप्ठ्यारो परिस्थितिमा नै जनतालाई राज्य र सरकार भएको महसुस हुनुपर्ने उनी बताउँछन् । ‘जनताको अभिभावक सरकार हो । उसले जनताको सुख, दुःखमा साथ दिनुपर्छ । र, आफू भएको प्रत्याभूति गराउन सक्नुपर्छ । त्यसपछि मात्र सरकारप्रति जनताको विश्वास बढ्छ,’ नेता महरले भने ।

विदेशमा मूल्य बढेर आयो भन्दै नेपालमा पटक-पटक मूल्य वृद्धि गर्नु मात्रै समस्याको समाधान नहुने उनी बताउँछन् । यो समस्या समाधानका लागि सरकार गम्भीर बन्नु पर्ने महरको धारणा छ । अहिले बजारको मूल्यवृद्धि रोक्न नसके कालान्तरमा व्यापारीले चलखेल गर्न सक्ने अवस्था आउने र उपभोक्ता थप मारमा पर्ने जोखिम रहेकाले सरकार चनाखो बन्नुपर्ने उनी बताउँछन् ।

बढाएको मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १८० पुगेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ८०० पुगेको छ । निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० बढाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *