उज्यालो चन्द्रागिरि अभियान सिसी क्यामरा र सडक बत्ती जडान


चन्द्रागिरि नगरपालिकाले ‘उज्यालो चन्द्रागिरि अभियान’ अन्तर्गत आवश्यकताका आधारमा नगर क्षेत्रमा थप सिसी क्यामरा र सडक बत्ती जडान गर्ने भएको छ ।

नगरपालिकाले पहिलो चरणमा कलङ्की–नागढुङ्गा–पिपलामोड सडक खण्डका विभिन्न स्थानमा ८० थान उच्च प्रविधिको सिसी क्यामरा तथा ५०० सडक बत्ती जडान गरेको थियो । यसबाट सो राजमार्गमा सडक दूर्घटना न्यूनीकरणमा ऐतिहासिक सहयोग मिलेको थियो । नगरपालिकाले चालु नयाँ आर्थिक वर्षमा पनि सो राजमार्गसहित नगरका अन्य अधिकांश मुख्य तथा भित्री सडकमा आवश्यकताका आधारमा सिसी क्यामरा तथा सडक बत्ती जडान गर्ने जनाएको छ ।

यसैबीच नगरप्रमुख घनश्याम गिरीले कलङ्की–नागढुङ्गा– पिपलामोड सडकखण्डमा हुँदै गरेको दोस्रो चरणको सडकबत्ती तथा सिसी क्यामेरा जडान विस्तार कार्यको आज निरीक्षण अनुगमन गर्नुभयो । सो अवसरमा उहाँले भन्नुभयो, “यसअघि पहिलो चरणमा उक्त सडक खण्डमा ८० थान उच्च प्रविधिको सिसी क्यामरा र करिब ५०० थान सडकबत्ती जडान गरिएको थियो  । यसै वर्ष आवश्यकताअनुसार राजमार्गसहित नगरका अन्य अधिकांश मुख्य र भित्री मार्गमा पनि सडक बत्ती जडान गर्ने काम हुन्छ ।

नगरप्रमुखको पहिलो कार्यकालमा नगरपालिकाको सम्पूर्ण वडालाई सडकबत्ती जडान गर्न बजेट विनियोजित गरिएको उहाँले जानकारी दिनुहुँदै तत्कालीन समयमा लगभग आठ हजार थान सडकबत्ती विभिन्न वडामा जडान भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस आर्थिक वर्षमा उज्यालो चन्द्रागिरि अभियानअन्तर्गत १५ हजार थान सडकबत्ती नगरभरिका मुख्य तथा भित्री मार्ग, धार्मिक तथा साँस्कृतिक स्थल, उद्यानलगायतका सार्वजनिक स्थल तथा अधिकांश स्थानमा जडान गरिनेछ । अभियानसँगै यसै वर्ष नगरपालिकाले आवश्यक अधिकांश ठाउँमा ‘फ्रि वाइफाई’ तथा ‘सिसी क्यामेरा’ जडान गरिने नगरप्रमुख गिरीले जानकारी दिनुभयो । यी प्रविधि र बत्ती जडानले नगरक्षेत्रमा दुर्घटना, चोरी डकैती तथा अनियन्त्रित गतिविधि नियन्त्रण हुने जनाइएको छ । उहाँले भन्नुभयो, सुरक्षित र प्रविधिमैत्री नगरपालिका बनाउन उच्च प्राथमितामा दिएको छु ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *