समावेशी बन्दै संस्कृत शिक्षा


काठमाडौँ । मधेसमा अत्यन्त पिछडिएको मानिने खत्वे जाति समुदायका नवीन मण्डलले संस्कृत भाषाकै अध्ययन जारी राखेर उच्च शिक्षा प्राप्त गर्ने रहर पाल्नुभएको छ । महोत्तरीको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयबाट यसपालि माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नुभएका मण्डललाई संस्कृत भाषा साहित्य अध्ययनको चाहना बढेको हो ।

एकताका उच्च कुलीन ब्राह्मणका लागि मात्र शिक्षाको अवसर दिने संस्कृत पाठशालाको नाउँ मात्र फेरिएको छैन । राजकीय संस्कृत माध्यमिक विद्यालय सबै जातजाति र समुदायको साझा बन्दैछ । मधेसका दलित समुदायका मण्डल आफ्नै दाजु दीपेन्द्र मण्डलको सल्लाहमा संस्कृत पढ्न मटिहानी पुग्नुभएको हो । दाजु दीपेन्द्रले पनि केही वर्षअघि यसै संस्कृत विद्यालयबाट प्रवेशिका उत्तीर्ण गर्नुभएको थियो ।

दाजुकै प्रेरणाले संस्कृत पढ्न थाल्नुभएका जिल्लाकै भ्रमरपुराका बासिन्दा नवीन संस्कृत भाषा र साहित्यमा राम्रो दखल बढाएर श्रीमद्भागवत पढ्न, बुझ्न र भावानुवाद गरी नेपाली, मैथिलीमा प्रवचन दिनसक्ने रहर पालेको बताउनुहुन्छ । यसपालि सो विद्यालयबाट एसइई उत्तीर्ण गर्ने मण्डल एक्लो हुनुहुन्न । मटिहानी–६ कै दुसाध जातिका अङ्कित पासवानले पनि एसइई यसै विद्यालयबाट उत्तीर्ण गर्नुभएको छ । “विद्यालयमा अहिले मधेसका मात्र नभएर विकट पहाडी जिल्लाका दलित समुदायका छोरी पनि पढ्दैछन्”, विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेल भन्नुहुन्छ, “छोरी शिक्षालाई त विशेष ध्यान नै दिएका छाँै, कक्षा ११ र १२ को शिक्षा पनि छोरीलाई पूर्ण निःशुल्क गरिएको छ ।”

भारतसँग सीमा जोडिएको महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालय जातीय दृष्टिले मात्र नभई कैयन वर्षदेखि पहाड–मधेस सम्बन्धको सेतु पनि रहँदै आएको छ । करिब ३०५ वर्षको इतिहास बनाएको यो गुरुद्वारा ९विद्यालय० मा संस्कृत विषयको अध्ययन मोहले आउने विकट पहाडी जिल्लाका वटुक (विद्यार्थी) को बाक्लो उपस्थितिले यो पहाड–मधेस सम्बन्धको सेतु रहँदै आएको प्रधानाध्यापक पौडेल बताउनुहुन्छ ।

विद्यालयमा अहिले पूर्वी नेपालको ताप्लेजुङदेखि पश्चिमको दैलेखसम्मका वटुक छन् । ताप्लेजुङ, ओखलढुङ्गा, खोटाङ, दैलेखसहितका पहाडी जिल्ला र बर्दिया, बाँके र मोरङका थारू समुदायका विद्यार्थी विद्यालयमा छन् । यसबाहेक मधेस प्रदेशका सबै जिल्ला र छिमेकी मित्रराष्ट्र भारतका पनि उल्लेख्य सङ्ख्याका वटुक रहेका विद्यालयले जनाएको छ । “तराईका अति पिछडिएका मानिने चमार समुदाय र कसेरा जाति समुदायका छोरीहरु हामीकहाँ पढ्दैछन्” प्रधानाध्यापक पौडेल भन्नुहुन्छ, “हाम्रो विद्यालय अब सबै जातजातिको शिक्षा आर्जनको साझा चौतारी र मुलुककै विभिन्न भेगको आपसी सम्बन्ध बढाउने थलो हो ।”

“हरिॐ नमस्ते रुद्र मण्याय…१” सखारैको रुद्राभिषेक पाठ । लामो टुपी पालेका पहेँलो वस्त्रधारी वटुकहरुको रुद्राभिषेक पाठसँगै सुरु हुने नियमित दैनिकीको चहलपहलले गुरुद्वाराको चहक सधैँ उजेलिएकै हुन्छ । विद्यालयमा पछिल्ला पाँच वर्षयता महर्षि फाउन्डेशनको सहयोगमा अखण्ड रुद्राभिषेक हुँदै आएको छ ।

संस्कृृत शिक्षा पढ्ने चाहले मधेस झरेका पहाडी दुर्गम जिल्लाका विद्यार्थी छात्रवासमा छन् । मुलुकका विभिन्न भेग र छिमेकी मित्रराष्ट्र भारतका वटुकहरु विगतदेखि गुरुकूल छात्रावासमा बस्दै आउने परम्परा नै हो । शिक्षाकै मुख्य ध्येयले गुरुद्वारा पुग्ने मुलुककै विभिन्न क्षेत्रका र मित्रराष्ट्र भारतका वटुकको आत्मीय र अनुशासित आहारव्यवहार मटिहानीवासीको सम्झनामा सधैँ रहने गरेको छ ।

संस्कृत शिक्षा पढ्न पहाडबाट झरेका विद्यार्थी अनुशासित, सहृदयी र मिहेनती रहेका मटिहानीवासीको आम प्रतिक्रिया भेटिन्छ । “गुरुकुलका वटुकको अनुशासन, नित्य रुद्राभिषेक पाठ र योगध्यान सहितका कक्षा हाम्रो चित्तमा सधैँ रहने सम्झना हुन्”, गुरुकुल रहेकै महिटानी–७ का वडाध्यक्ष जीतनारायण माझी भन्नुहुन्छ । फुर्सदका बेला बजार र बस्ती घुम्न निस्कँदा पहाडबाट झरेका विद्यार्थीको हुने विनम्र बोलीचाली र शिष्टाचारयुक्त व्यवहार यहाँका बासिन्दाका लागि आकर्षण हुने गरेको वडाध्यक्ष माझीको भनाइ छ । विकट पहाडी जिल्लाबाट मध्यपूर्वी तराईको भारतीय सीमावर्तीस्थित मटिहानी झरेका विद्यार्थी यसै ठाउँमा जन्मी हुर्की बढेका जस्तो उमेर बहिक्रम अनुसारको नाता लगाएर बोल्ने गरेका मटिहानीवासी बताउँछन् ।

केही दशकअघिसम्म खासगरी पूर्वी पहाडी जिल्लाहरु ओखलढुङ्गा, रामेछाप, खोटाङ, भोजपुर र सङ्खुवासभाका ब्राह्मण परिवारका सन्तानको शिक्षा प्राप्तिको मुख्य थलो नै यही गुरुद्वारा थियो । साहित्य क्षेत्रमा विशिष्ट परिचय स्थापित गर्नेदेखि नेपालको प्रशासनिक क्षेत्रको सेवामा उत्कृष्ट बनेका उल्लेख्य सङ्ख्याका उच्चपदस्थ अधिकारी आफ्ना पूर्वशिष्य भनेर चिनाउन पाउने गौरव गुरुद्वारालाई रहेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ ।

आ–आफ्ना कार्यकालमा सबैको सेवा र समर्पण उत्कृष्ट रहे पनि मटिहानीको शैक्षिक विकासमा यहाँका बासिन्दा राजकीय संस्कृत माध्यमिक विद्यालय र श्रीराम माध्यमिक विद्यालयमा दीर्घसेवा दिएर अवकाश लिनुभएका प्रधानाध्यापक अमिरीलाल मण्डललाई मटिहानीवासी आदरसाथ सम्झँदा रहेछन् । “सबैले जिम्मेवारीमा छँदा योगदान दिएकै हुन्”, मटिहानीका सामाजिक, राजनीतिक कार्यकर्ता शङ्कर साह भन्नुहुन्छ, “यद्यपि हाम्रो पुस्ताले अमिरीलाल मण्डल र लक्ष्मीनारायण मठका दिवङ्गत मानमहन्थ कौशलकिशोर दासलाई यहाँको शैक्षिक विकासमा आदरका साथ सम्झना राख्छन् ।”

करिब चार दशकअघिसम्म संस्कृत शिक्षाको प्रमुख गन्तव्य रहँदै आएको गुरुद्वारामा त्यसयता भने पहाडी वटुक स्वात्तै घटेका देखिन्छन् । यो क्रम धेरैपछि ७० को दशक (वि.सं २०६०–२०७०) मा दैलेखले उल्लेख्य सङ्ख्यामा जोडेको प्रधानाध्यापक पौडेल सम्झनुहुन्छ । विसं २०६२ मा संस्कृत शिक्षाको मोहले दैलेखको दुल्लुबाट आएका विद्यार्थी देवर्षि नेपालले शिक्षाका लागि नेपाल–भारत सीमाक्षेत्र दशगजाबाट १०० मिटर दूरीभित्रको यो विद्यालयमा जोडेका साइनोले त्यसयता त्यहाँबाट ५० भन्दा बढी विद्यार्थी आइसकेका पौडेल बताउनुहुन्छ ।

“हुन त अन्य पहाडी जिल्लाबाट पनि विद्यार्थी आएकै छन् तर दैलेखको साइनो चैं विशेषजस्तै लाग्छ”, पौडेल भन्नुहुन्छ, “२०६२ देखि हालसम्म दैलेखको दुल्लुकै करिब ७० विद्यार्थी विद्यालयसँग जोडिए ।” विकट पहाडी जिल्लाबाट पढ्न मधेसको पनि भारतसँगै सीमा जोडिएको बस्तीमा आएका फरक मातृभाषी विद्यार्थीको सङ्गतबाट मटिहानीका सर्वसाधारण पनि फरक भाषा, संस्कृतिसँग परिचित हुुने गरेको पौडेल बताउनुहुन्छ ।

पहाडी भेगका विद्यार्थीसँगको हेलमेलले मटिहानीसँगै जोडिएको भारतीय बजार मधवापुरमा पनि नेपाली भाषा बुझ्ने बोल्ने प्रशस्त भेटिन्छन् । त्यसैगरी पहाडी विद्यार्थी पनि मिथिलाको स्थानीय भाषा मैथिली बोल्न पोख्त भएका छन् ।

वि.सं १७७५ मा स्थापित भएको भनिएको यो विद्यालयको प्रमाणिक अभिलेख भने १८८२ सालदेखिको भेटिएको छ । राजकीय संस्कृत माध्यमिक विद्यालयसँगै जोडिएर भगवान् लक्ष्मीनारायण र महामुनि याज्ञवल्क्यका नाउँमा स्थापित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) मा स्नातक तहसम्मको उच्च शिक्षा लिन पाएपछि यहाँ पढ्न आउने विद्यार्थीलाई थप सजिलो भएको हो ।

विद्यालय परिसरमा पुग्ने विशिष्ट पाहुनाको स्वागतमा वटुक (छात्र) वैदिक मन्त्रोच्चारणले न्यानो स्वागत र स्वस्तिवाचन गर्छन् । विद्यालयको दैनिक तालिकामा बाँधिएको नियमले सबैलाई अनुशासनमा बाँधेको छ । “बिहान उठ्ने, नित्यक्रिायाबाट निवृत्त हुने, योगाभ्यास गर्ने, दैनिक रुद्री पाठ गर्ने, खाने, कक्षामा जाने, गृहकार्य गर्ने, घुम्ने, खेलकुद गर्ने र रात्रि विश्रामसम्मका सबै कामका निश्चित समय तालिका बाँधिएको छ”, मटिहानीकै बासिन्दा जिल्लाका अग्रज पत्रकार विन्देश्वरीप्रसाद मण्डल भन्नुहुन्छ, “गुरुकुलले शिक्षा र सामाजिक अनुशासनको ज्ञानसँगसँगै दिएको छ ।”

विद्यालयमा आयोजन हुने अतिरिक्त क्रियाकलापमा वक्तृत्वकला, गायन र मनोरञ्जनात्मक कार्यक्रम पनि समाविष्ट छन् । गायन, वक्तृत्वकला र सरसफाइ सचेततामा विद्यार्थी अब्बल देखिन्छन् ।

अन्य विद्यालयमा कक्षा–९ देखि माध्यमिक तह मानिए पनि यहाँ भने कक्षा ८ देखि नै माध्यमिक तह मानिन्छ । अहिले विद्यालयका कूल एक सय पाँच विद्यार्थीमा छात्राको सङ्ख्या ४० प्रतिशतको हाराहारी छ । अन्य माध्यमिक विद्यालयमा जस्तै पठनपाठन हुने अनिवार्य विषयका अतिरिक्त अनिवार्य संस्कृत र ऐच्छिक विषयमा संस्कृतभित्रका साहित्य, ज्योतिष, वेद, व्याकरण, न्याय र कर्मकाण्डमध्ये दुईवटा विषय पढ्न पर्ने व्यवस्था छ । तीन÷चार दशक पहिलेसम्म भरिभराउ विद्यार्थी हुने यो विद्यालयमा संस्कृततर्फको रुचि घट्दै गएर विद्यार्थी सङ्ख्या पातलिएको प्रधानाध्यापक पौडेलको ठम्याइ छ ।

विद्यालयमा अध्ययन गर्ने ४४ जना छात्रछात्रालाई गुठी संस्थानले खानाबापत दाल, चामल र सागसब्जी, मसला, तेलभुटुन र इन्धनबापत नगद दिने गरेको छ । संस्कृत अध्ययनतर्फ रुचि बढाउन थप सुविधा विस्तार गर्नुपर्ने मटिहानीवासी बताउँछन् । टाढाटाढाबाट पढ्न आउने विद्यार्थीका लागि खाट, ओढ्ने ओछ्याउने लुगा र खाना व्यवस्थापनको कुरासम्म माँङ्चाङ्बाट चलेको प्रधानाध्यापक पौडेलको भनाइ छ । आफ्नो विद्यालयका छात्रछात्रा धेरैजसो अत्यन्त निर्धन परिवारका रहेका पौडेलले बताउनुभयो ।

बालगुरु षडाननले समेत शिक्षा लिएको मानिने यो विद्यालय तश्मैया बाबा ९तश्मैया नाउँका साधक, मुनि० ले स्थापना गरेर यसको सञ्चालन गुठीबाट हुने व्यवस्था मिलाएका मटिहानीका बूढापाका बताउँछन् । पछिल्लो समय शिक्षा मन्त्रालय, गुठी संस्थान र अन्य सम्बद्ध निकायको उदासीनताले पूर्वीय दर्शन र प्राचीन साहित्य अध्ययनको यो थलो क्रमशः आकर्षणविहीन बन्दै गएको यहाँका बासिन्दाको गुनासो छ ।

कुनै खास भूगोल क्षेत्र मात्र नभएर पूर्वीय वैदिक संस्कृतिको उज्यालो सबैतिर छर्दै आएको राजकीय संस्कृत माध्यमिक विद्यालय र याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको संरक्षण र संवद्र्धनमा सङ्घीय, प्रादेशिक र स्थानीय सहितका सरकारले चासो बढाउनुपर्ने माग अहिले बढेको छ । गत मङ्सिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गर्नुभएपछि विद्यालयबारे चासो बढेको पाइएको छ ।

राष्ट्रपतिको मटिहानी भ्रमण र विद्यालय अवलोकनयता देश विदेशका पर्यटक आउने क्रम बाक्लिएको छ । यस क्रमले संस्कृत शिक्षाको पुरानो धरोहर अव शैक्षिक पर्यटनको गन्तव्य बन्दै गएको नगरप्रमुख मण्डल बताउनुहुन्छ । “राष्ट्रपतिको भ्रमणयता विद्यालयको भौतिक अवस्था सुधारमा निकै काम भएका छन्, राष्ट्रिय अन्तर्राष्ट्रिय चासो बढेको छ”, नगरप्रमुख मण्डल भन्नुहुन्छ, “हामी यसलाई सबैले सम्झने र माया गर्ने थलोका रुपमा विकास गर्न प्रतिबद्ध छौँ ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *