साप्ताहिक पत्रिकारिताको महत्व र औचित्य


काठमाडौँ । मिसन पत्रकारितामा खम्बाको रुपमा स्थापित सत्याग्रह साप्ताहिकले आजबाट २३ औं वसन्त पार गरी २४ औं मा प्रवेश गरेको छ । सधैं लोकतान्त्रिक पद्धति र सामाजिक रुपान्तरणका लागि रत्तिभर नडगमगाइकन आफ्नो कलम अगाडि बढाउँदै आएको छ । स्थापनादेखि विभिन्न आरोह अवरोह खेप्दै २३ वर्ष पार गर्दासम्म आफ्नो गतिलाई निरन्तर अगाडि बढाइरहेको छ ।

मुलुकमा लोकतन्त्र स्थापना र सामाजिक परिवर्तनको लागि मिसन पत्रकारिताबाट आफ्नो गन्तव्य तय गरेको सत्याग्रह साप्ताहिक जस्तोसुकै अप्ठ्यारामा पनि डगमगाएन । लोकतन्त्र स्थापना र सामाजिक रुपान्तरणका लागि हुने हरेक आन्दोलनका पक्षमा आवाज मुखरित गर्ने सत्याग्रहले जतिसुकै कठिन मोडमा पनि आफ्नो कदम रोकेन । परिवर्तनका लागि भएका आन्दोलनमा कपूर्m लाग्दासम्म आफ्नो यात्रालाई निरन्तर अगाडि बढाइरह्यो सत्याग्रहले । चाहे ती माओवादी द्वन्द्वकालका हुन् अथवा २०६२/०६३ का जनआन्दोलन हुन् । सधैं लोकतान्त्रिक आन्दोलनलाई बलियो बनाउने र स्थापित गर्ने पक्षमा आफ्नो उपस्थिति बलियो बनाइरह्यो । सत्याग्रह साप्ताहिकलाई यहाँसम्म ल्याइपु¥याउँदा आइपरेका विभिन्न घुम्ती, मोड, कुइनेटा, उकाली, ओराली पार गर्न यसका प्रकाशक/प्रधानसम्पादक सीताराम ढुंगेलको योगदान त्यत्तिकै महत्वपूर्ण छ । ढुंगेलले सत्याग्रहलाई व्यवसायिक कारखानाभन्दा पनि मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना र सामाजिक रुपान्तरणको सशक्त माध्यम बनाइरहे । त्यो सहकार्यमा म पनि जोडिएको २० वर्ष हाराहारी भएछ । २०६० सालदेखि सत्याग्रह साप्ताहिकमा जोडिएको हुँ । त्यसको निरन्तरता आजसम्म आइपुगेको छ । यस बीचमा धेरै पत्रपत्रिकाहरुमा जोडिएर काम गर्ने अवसरहरु प्राप्त भए । २०४९ सालदेखि साप्ताहिक विमर्शबाट शुरु भएको यात्रा देशान्तर, तरुण, नयाँ विकल्प हुँदै सत्याग्रहसम्म निरन्तर अगाडि बढिरहेको छ ।

एकताका नेपालमा साप्ताहिक पत्रपत्रिकाको बाढी नै आएको थियो । त्यो भीडमा सत्याग्रह साप्ताहिक छुट्टै पहिचानका साथ स्थापित थियो । २०५५ सालबाट निरन्तर प्रकाशित हुँदै आएको सत्याग्ह साप्ताहिक आज २३ वर्ष पुरा गरी २४ औं वर्षमा प्रवेश गरेको पाउँदा निकै खुशी लागेको छ । नेपाली पत्रकारिता जगतमा साप्ताहिक पत्रिकाको भूमिका छुट्टै छ । यसले मुलुकमा आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनको लागि साप्ताहिक पत्रिकाले सधैं आवाज बुलन्द गर्दै आएका छन् । एकदलीय पञ्चायती व्यवस्थाविरुद्ध खरो उत्रने साप्ताहिक पत्रिकाका सम्पादकहरु त्यसताका भूमिगत जस्तै हुन्थे । पञ्चायतको विरुद्ध र प्रजातन्त्रको पक्षमा धँवाधार कमल चलाउँदा उनीहरु सधैं राज्यको तारो बन्ने गर्दथे । त्यसै मेसोमा सत्याग्रहले पनि आफ्नो कदम अगाडि बढायो ।

नेपालमा जति पनि परिवर्तन भएको त्यसमा ठूला हात साप्ताहिक पत्रिकाको छ । हुनत २०४६ सालको परिवर्तनपछि सञ्चारमाध्यमको बाढी नै आयो । धेरैले मिडियालाई सञ्चार उद्योगको रुपमा स्थापित पनि गरे । त्यस्ता मिडिया उद्योगहरु अहिले पनि स्थापित छन् । तर, मुलुकमा परिवर्तनका लागि आन्दोलनका पक्षमा मिसन पत्रकारिता भने साप्ताहिक पत्रपत्रिकाले गरेका छन् । मिसन पत्रकारिता गरेर एकदलीय पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्र पुर्नस्थापनासँगै लोकतान्त्रिक गणतन्त्र ल्याउनमा साप्ताहिक पत्रपत्रिकाले महत्वपूर्ण भूमिका निर्वाह गरे । तर, पछिल्लो समय ती साप्ताहिक पत्रपत्रिकाहरु ओझेलमा पर्दै गएका छन् । पञ्चायती व्यवस्थामा लुकीलुक साप्ताहिक पत्रिका निकालेर आन्दोलन र परिवर्तनको पक्षमा वकालत गर्ने सम्पादकहरु अहिले नेता र पार्टीबाट ओझेलिँदै गएका छन् । हिजोका दिनमा ती पार्टी र नेताका विचार यिनै साप्ताहिक पत्रपत्रिकाले जनतासामु पु¥याउने काम गरे । नेताका विचारलाई जनतासमक्ष पु¥याएर आन्दोलनलाई थप उर्जा प्रदान गर्ने काम भयो । त्यसको प्रभावले मुलुकमा जनसागर उर्लियो । त्यसको जगबाट मुलुकमा निरंकुश राजतन्त्रको अन्त्य नै भयो । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । सबै तह, तप्का, वर्ग, समुदायको अपनत्य हुनेगरी समानुपातिक र समावेशी संविधान बन्यो । यो उपब्धिसम्म आइपुग्न मिसन पत्रकारिताले ठूलो भूमिका खेलेको पाइन्छ । त्यसमा दरिलो इँटा थप्ने काम सत्याग्रह साप्ताहिकले पनि गरेको छ ।

हुन त मुलुकमा लोकतन्त्र स्थापनापछि पत्रकारिता क्षेत्र राम्रैसँग फस्टाए । त्यसमा कतिले समाज परिवर्तनका लागि भूमिका खेले भने कतिपयले व्यवसायिक दृष्टिकोणले पनि पत्रकारिता क्षेत्रको सहारा लिए । राज्यपक्षको आँखा पनि त्यसैमा केन्द्रित हुन थाले । पछिलो समय सञ्चार माध्यमलाई उद्योगको रुपमा विकास भएपछि विस्तारै श्रमजीवी पत्रकारहरु ओझेलमा पर्दै गएका छन् । त्यसलाई बँचाइ राख्न अहिले पनि स्वरोजगारमुलक साप्ताहिक पत्रपत्रिकाले मद्दत गरिराखेका छन् । कोरोना कहरका बेला पनि यिनै साप्ताहिक पत्रिकाहरुले थोरै भएपनि रोजीरोटीको व्यवस्था गरे । ठूला मिडियाहरु तहसनहस हुँदा र श्रमजीवी पत्रकारहरु भोकभोकै हुँदापनि साप्ताहिक पत्रपत्रिका भने निरन्तर प्रकाशित भइरहे । जसले थोरै भएपनि त्यसमा आश्रित पत्रकारको रोजीरोटीको व्यवस्था गरेको थियो ।

व्यवसायिक रुपमा स्थापना गरिएका मिडिया हाउसहरु मुलुकमा संकट आउनासाथ डमगाउँछन् । विज्ञापनलगायत आयस्रोत घट्नासाथ ती मिडियाहाउसहरु हच्किने गर्दछन् । तर, स्वरोजगारमुलक साप्ताहिक पत्रपत्रिकाहरु भने जस्तोसुकै संकटका बेला पनि आफ्नो मिसनमा रत्तिभर डगमगाउँदैनन् । राजनीतिक परिवर्तनदेखि मुलुकमा आउने भैपरी आउने दैवीप्रकोपमा पनि निरन्तर आफ्नो पाइला अगाडि बढाउँछन् । त्यसैले पनि पत्रिकारिता क्षेत्रमा साप्ताहिक पत्रपत्रिकाको महत्व छुट्टै छ । देशमा आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा ठूलो योगदान रहेको छ । त्यस पंतिमा निरन्तर प्रकाशित हुँदै आएको सत्याग्रह सप्ताहिकले आज आफ्नो स्थापना कालको २४ औं वार्षिकोत्सव मनाउन लागेकोमा धेरै खुशी लागेको छ । आगामी दिनमा अझ परिमार्जित, परिस्कृत भएर अगाडि बढ्ने आशासहित उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *