दलका घोषणापत्रमा मौलिक प्रतिबद्धता नरहेको आरोप

काठमाडौँ । विश्व हिन्दू महासङ्घ नेपाल राष्ट्रिय समितिले राजनीतिक दलले सार्वजनिक गरेका चुनावी घोषणापत्रमा देशको मौलिकता, दिगो विकास र समृद्धिका कुनै प्रतिबद्धता नपाइएको आरोप लगाएको छ । महासङ्घले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलन एवं अन्तक्र्रिया कार्यक्रममा राजनीतिक दलले सनातन धर्म संस्कृतिप्रति इमान र आस्था झल्काउने विषय घोषणापत्रमा उल्लेख नगरेको गुनासो गरिएको हो ।

राष्ट्रियताको रक्षा र सनातन धर्म, संस्कृतिको संरक्षणका लागि नेपाली जनताबीच बृहत् धार्मिक एकता कायम गरेर अन्त्य गरिने प्रतिबद्धता महासङ्घले व्यक्त गरेको छ । विदेशबाट नेपालमा लागू गरिएका शिक्षा, स्वास्थ्य, अर्थ, कृषि, वन, पर्यटन, जलस्रोत र जडीबुटी आदि नीतिमा परिवर्तन गर्ने उद्घोषका साथ काम गर्ने अध्यक्ष अधिकारीले प्रतिबद्धता जनाए ।

आगामी १५ वर्षमा ५० लाख युवायुवतीलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता पनि महासङ्घले व्यक्त गरेको छ । गौशाला, गुरुकुल र वैदिक कृषिका माध्यमले रासायनिक मलबाट उत्पादित अन्नबाली अन्त्य गरिने अवधारणा पनि विज्ञप्तिमार्फत अघि सारिएको छ । माटोको गुणस्तर, पाठ्यक्रममा परिमार्जन, रासायनिक विषादिमुक्त खाद्य तथा पेय पदार्थको उत्पादनतर्फ पनि महासङ्घले जोड दिएको छ ।

संसदीय निर्वाचनमा राष्ट्रियता, सनातन हिन्दू धर्म र ॐ कार परिवारप्रति सद्भाव राख्दै आएका तथा जितेर संसद्मा पुगेपछि पनि हिन्दू राष्ट्रका पक्षमा बहस गर्ने प्रतिबद्धता जाहेर गर्ने ठूला–साना विभिन्न दलबाट उठेका र स्वतन्त्र उम्मेदवारलाई मत दिन पनि महासङ्घले मतदातामा आग्रह गरेको छ ।

कार्यक्रममा विश्व हिन्दू युवा सङ्घका अध्यक्ष ऋषिकेशजङ्ग शाहले दलहरूका विकल्प भन्ने दाबी गर्दै आएका स्वतन्त्र उम्मेदवारले पनि देशको मौलिकतालाई बिर्सेकाले मतदान गर्नुअघि गम्भीर भएर सोचविचार गर्न अनुरोध गरेका छन् । महासङ्घले आयुर्वेद तथा वास्तुकलालगायत मौलिक विषयवस्तुको अध्यापन गराउन छुट्टै विश्वविद्यालय स्थापनाको सोचका साथ काम गरिरहेको जानकारी उनले दिएका छन् ।

कार्यक्रममा महासङ्घका उपसभापतिद्वय प्रवीण घिमिरे र भक्तराज भुसाल, महासचिव गणेशप्रसाद न्यौपानेलगायतले मौलिकताबिना देशको अस्तित्व खतरामा पर्ने भएकाले यसको रक्षाका लागि राजनीतिक नेतृत्वले बेलैमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *