नर्भिक हस्पिटलले घोषणा गर्यो ४० प्रतिशत लाभांश


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले साधारण सेयरको प्राथमिक निश्कासन आइपीओको तयारीमा रहेको हस्पिटलले ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ ।
नर्भिक अस्पतालको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को नाफाबाट आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । घोषित कुल लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि समेत रहेको छ । हाल नर्भिक अस्पतालको चुक्तापूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । यो हिसाबले अस्पतालले ४ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ भने कर प्रयोजनका लागि आवश्यकसहित ४ करोड ५० लाख रुपैयाँ बराबरकै नगद लाभांश समेत बाँड्नेछ । घोषित लाभांश वितरणपछि नर्भिक अस्पतालको चुक्तापूँजी २७ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको आगामी वार्षिक साधारणसभाबाट लाभांश वितरण सम्बन्धी प्रस्ताव अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ । गत वर्ष नर्भिकले ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । आइपीओ निश्कासनको योजनासहित पब्लिक लिमिटेडमा रुपान्तरण हुने नर्भिक अस्पताल निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो अस्पताल पनि हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *