गुर्जुधारा सहकारीको १३ औं साधारणसभा सम्पन्न


काठमाण्डौं । गुर्जुधारा बचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । काठमाडौं बचत तथा ऋण सहकारी संघ कास्कूनका अध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा अध्यक्ष राजकुमार महर्जनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अर्थतन्त्रको ३ मध्ये एक खम्बाको रुपमा सहकारीलाई लिएको भए पनि सरकारको नीति र नियामक निकायका कारण सहकारी फस्टाउनुको साटो खस्कँदै गएको बताए । समुदायमा आधारित भएर सदस्यहरुलाई गुणस्तरीय वितीय सेवा प्रदान गर्दै आएको गुर्जुधाराले सदस्यहरुको सन्तुुष्टीलाई नै पहिलो प्राथमिकता राखेको उनले बताए । संस्थाले सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै नवीनतम विधि र आधुनिक प्रविधिको प्रयोग गरी सदस्यलाई उत्कृष्ट वित्तीय सेवा दिँदै आएको महर्जनले जानकारी दिए । सहकारीमार्फत सदस्यहरुको जीवनस्तर अभिवृद्धि गर्नु नै संस्थाको ध्येय रहेको भन्दै उनले सोही अनुसार संस्थाले काम गर्दै आएको जनाए । संस्थाले आब २०७८।०७९को असार मसान्तसम्म २४०४ सदस्य मार्फत १ करोड १३ लाख शेयर पूँजी, १३ करोड ८९लाख ५७ हजार बचत संकलन र १५ करोड ४० लाख ४९ हजार ऋण लगानी गर्न सफल भएको सो अवसरमा जानकारी दिए । संस्थाले सदस्यहरुलाई ग्याँस वितरण, कृषि रासायनिक मल, विप्रेषण सेवा, सीप तथा क्षमता विकास तालिम,रक्तदान,सामाजिक सुरक्षा तथा शेयर सदस्य हितकोष र सदस्य शिक्षा एवं तीर्थटान जस्ता कार्यक्रम गर्दै आएको छ । संस्थाको दिगोपना र वित्तीय कारोबारलाई समय सापेक्ष बनाउन डिजिटलाईजेशनमा जाने योजना अघि सारेको छ । संस्थाले वित्तीय पहुँचबाट टाढा रहेका सिमान्तिकृत, गरिब, न्युनआय र विपन्न वर्ग र विशेषगरी महिलाहरुलाई लक्षित गरी लघुवित कार्यक्रम सञ्चालन गर्ने भएको छ । लघुवित मार्फत उनीहरुलाइ उत्पादनमूलक र आयमूलक क्षेत्रमा लगाई रोजगारी सृजना गरी, आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपमा माथि उठाउने लक्ष्य संस्थाले लिएको छ । संस्थाले नेशनल क्यान्सर अस्पताल र समाज डेण्टलसँगको सहकार्यमा सदस्यलाई क्यान्सर सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने र सदस्यहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाएको छ ।
सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक दशमाया महर्जनले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै निक्षेपको बीमा गर्न सुझाव दिएकी छिन् । संस्थामा भाखा नाघेको ऋणको अनुपातमा वृद्धि हुदै गएकाले ऋण नोक्सानी कोष वृद्धि गर्नु पर्ने सुझाव उनको छ।  

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *