राष्ट्रपतिसमेत एमालेकै पोल्टामा पुगे प्रचण्डको राजनीति उठ्नै नसक्ने गरी थेचारिने

काठमाडौं । विगतमा प्रधानमन्त्रीले जे चाह्यो, राजनीतिक कोर्ष पनि त्यसैअनुसार चल्थ्यो । तर अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड केही गर्नै नसक्ने गरी निरीह बन्दै गएका छन् । सभामुख र उपसभामुख एमाले अध्यक्ष केपी ओलीकै गृहजिल्ला झापाका बनेका छन् । सभामुख देवराज घिमिरे ओलीले भनेको बाहेक एक इन्च दायाँबायाँ गर्दैनन् । त्यसैले आगामी दिनमा प्रतिनिधिसभा सञ्चालन गर्दा सभामुख घिमिरेले प्रचण्डलाई अप्ठेरो बनाउने निश्चित छ । प्रचण्डले चाहेका विधेयक घिमिरेले सहजै ल्याउन देलान् भन्ने कसैले सोचेको छैन ।

उपसभामुख इन्दिरा राना राष्ट्रिय स्वतन्त्र पार्टीकी हुन् । तर रास्वपाका अध्यक्ष रवि लामिछाने आफ्नो पद जोगाउन हरेक दिन ओलीकहाँ धाउनुपर्ने बाध्यताले पनि उपसभामुखले प्रधानमन्त्रीलाई सहयोग गर्ने परिस्थिति छैन । अब सबैको आँखा राष्ट्रपति र उपराष्ट्रपति को बन्ला भन्नेतिर गएको छ । राष्ट्रपति आफ्नै खोल्तीको बनाउन ओलीले गृहकार्य अघि बढाइरहेका छन् । राष्ट्रपति र उपराष्ट्रपति दुवै कसलाई बनाउने भन्ने प्रचण्डको हातमा छैन । राष्ट्रपति त्यसै पनि एमालेको भागमा परेको भनिएको छ । उपराष्ट्रपति पनि माओवादी केन्द्रले नपाउने गरी राजनीतिक कोर्ष अघि बढिरहेको छ ।

न्यायालय, प्रतिनिधिसभा, कर्मचारी संगठन सबै एमालेको पकडमा छ । त्यसकारण प्रधानमन्त्री प्रचण्ड सहज ढंगले चल्न सक्ने देखिन्न । त्यसमा पनि माओवादीबाट मन्त्री बनेका बाहेक राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू प्रचण्डसँग होइन, ओलीसँग निकट छन् । केही काम गर्नुपरेमा पनि पहिले ओलीसँग रायसुझाव लिएर चल्ने गरेको देखिएको छ । त्यसैले प्रचण्डले राष्ट्रपतिमा एमालेलाई नै सघाउँछन् वा कांग्रेसका उम्मेदवारलाई सघाउँछन्, त्यसले मात्र उनको भावी राजनीति अघि बढ्ने छ ।

एमालेबाट अहिले ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, गोमा देवकोटा, डोरमणि पौडेललगायत राष्ट्रपतिका लागि चर्चामा छन् । एमाले अध्यक्ष केपी ओलीले अहिलेसम्म कसैलाई बचन दिएका छैनन् । चुनाव आउन अझै डेढ महिना बाँकी भएकाले पनि राष्ट्रपति कसलाई बनाउने भन्ने एमालेले नाम बाहिर नल्याएको हो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीको सुझावअनुसार नै नयाँ राष्ट्रपति कसलाई बनाउने भन्ने एमालेले निर्णय गर्ने भएको छ । सभामुख पनि त्यसैगरी नाम फाइनल भएको थियो । ओलीले अन्तिममा देवराज घिमिरेको नाम प्रस्तावित गरेपछि सबै आकांक्षी पछि हटेका थिए ।

सरकारलाई समर्थन गरेको जसपा अध्यक्ष उपेन्द्र यादव जसरी पनि संसद् छिर्ने योजनामा छन् । त्यसका लागि उनले एमाले अध्यक्ष ओली फकाउन लागिसकेका छन् । जसपा उपराष्ट्रपति लिन चाहन्छ । त्यसकै लागि शनिबार यादव ओली निवास बालकोट पुगेका थिए । यदि उपराष्ट्रपति आफ्नो पार्टीलाई बनाएर ओलीले भनेको जे पनि मान्ने यादवले बचन दिएको बुझिएको छ ।

उपेन्द्र उपराष्ट्रपतिमा आफ्नो पार्टीका महासचिव रामसहायप्रसाद यादवलाई बनाउन चाहन्छन् । बाराका रामसहायप्रसादलाई उपराष्ट्रपति बनाउन पाए त्यहाँ हुने उपनिर्वाचनमा आफू उठ्ने उपेन्द्रको दाउ छ । यदि उपराष्ट्रपति ओलीले जसपालाई दिए भने प्रचण्ड अझ कमजोर बन्ने निश्चित छ । अहिले उपराष्ट्रपति माओवादी केन्द्रका नन्दबहादुर पुन छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *