पुस १० अघिको अवस्थामा फर्किने ओलीले दिएको त्यो सन्देश

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले राजनीतिक स्थिरता र मुलुकको समृद्धिका लागि कांग्रेससँग सहकार्य हुनसक्ने बताएपछि फेरि समीकरण फेरबदल हुन्छ कि भन्ने चासो बढेको छ । आफ्नै अहं र कांग्रेसलाई एक्ल्याउने रणनीति असफल भएपछि ओली निराश बनेका ओलीले कांग्रेसले कूटनीतिक चातुर्यता देखाउँदै राष्ट्रपति पद आफ्नो पक्षमा पारेपछि फेरि एकपटक कांग्रेससँग सहकार्य हुनसक्ने बताएका छन् ।

राजनीतिक स्थिरताका लागि दुई ठूला दलबीच नयाँ गठबन्धन बन्ने उनले संकेत गरेका छन्। ओलीले राष्ट्रपति निर्वाचनपछि कांग्रेस र एमालेको सरकार बन्दैन भन्न नसकिने बताए । बिहीबार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले भने, ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम खाएको छैन । कांग्रेससँग हामी मिल्न सक्छौं ।’

दुई ठूला दल मिल्नुको विकल्प नभएको निष्कर्षसहित पहिलेदेखि नै प्रयास गरेका छन् । आमनिर्वाचनअघि एक मिडियालाई दिएको अन्तर्वार्तामा ओलीले निर्वाचनपछि कांग्रेस र एमाले गठबन्धनको सरकार बन्ने भनेका थिए । तर, पुस ८ गते कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने प्रस्ताव ओलीकै कारण तुहिएको थियो । प्रचण्डले कांग्रेसको गठबन्धन छाडेर आएपछि ओलीले तत्काल माओवादी केन्द्रसहित साना दलसँग मिलेर सरकार बनाएका थिए । पुस १० गते एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टीसहितको नयाँ गठबन्धन बन्यो ।

पुस १० गते दिउँसो ३ बजेसम्म ओलीले आफूहरू बालुवाटार आउने र सरकारको मोडालिटी टुंग्याएर कांग्रेस र एमालेको सरकार बनाउने आश्वास कांग्रेस नेताहरूलाई दिएका थिए । तर प्रचण्ड बालकोट पुगेपछि ओलीले बालुवाटारमा कुरेर बसेका कांग्रेस नेताहरूलाई फोनसमेत गर्न चाहेनन् । अहिले कांग्रेसले राष्ट्रपति पद पाएपछि फेरि पुस १० गतेअघिकै प्रस्तावमा छलफल गरौं भन्नुको कुनै तात्पर्य नभएको कांग्रेस महामन्त्री गगन थापाले स्पष्ट पारिसकेका छन् ।

थापाले २०८४ को निर्वाचनअघि एमालेसँग सहकार्य नहुने, त्यसपछि भन्ने नसकिने बताएका छन् । एमालेले धोका दिएकोमा थापाले सार्वजनिक रूपमै आपत्ति जनाउँदै आएका छन् । त्यही भएर बिहीबार ओलीको टिप्पणीमा थापाले काउन्टर जवाफ दिएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *