यस वर्ष पहिलो पटक ढोरपाटनमा हिमपात

काठमाडौं । बागलुङको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि शनिबार रातिदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण चिसो बढेको छ । हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको स्थानीय होटल व्यवसायी श्यमलाल घिमिरेले बताए ।

हिमपातले स्थानीयको जनजीवन कष्टकर भएको घिमिरेको भनाइ छ । हिउँका कारण शनिबार रातभर मोबाइल नेटवर्कले काम नगरेको र आइतबार बिहान घाम लागेपछि काम गर्न थालेको उनले बताए । हिउँले सडक ठप्प भएपछि ढोरपाटनबाट बुर्तिबाङ झर्ने स्थानीय तथा पर्यटक ढोरपाटनमै रोकिएको घिमिरेको भनाइ छ ।

“हिजो बुटवलदेखि एक बस पर्यटक आएका थिए, हिउँले गर्दा फल्लेघरभन्दा माथि आउन सकेनन्, पछि पिकअपले ल्यायो”, घिमिरेले भने , “अहिले घाम लागेको छ, बिस्तारै हिउँ पग्लिन थालेको छ, दिउँसोसम्म सबै सडक खुल्छन् होला ।”

हिमपातले गर्दा घोडा खच्चड तथा बस्तुभाउलाई घाँस दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताए । अघिल्लो वर्ष पुस माघमै चार /पाँच पटक हिमपात हुने गरे पनि यस वर्ष ढोरपाटन उपत्यकामा पहिलो पटक हिउँ परेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *