बिग्रेको अर्थतन्त्रको स्टेयरिङ डा.महतको हातमा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत अर्थमन्त्री बनेका छन् । देशको समग्र अर्थतन्त्र बिग्रेका बेला महतले स्टेयरिङ समाएका छन् । अघिल्लो साढे तीन वर्षको कम्युनिस्ट सरकारमा युवराज खतिवडा र विष्णु पौडेल, त्यसपछि माओवादीका नेता जनार्दन शर्मा र मंसिरको निर्वाचनपछि एमालेकै विष्णु पौडेल अर्थमन्त्री बनेका थिए ।

कांग्रेसले ६ वर्षपछि अर्थ मन्त्रालय पाएको हो । ज्ञानेन्द्रबहादुर कार्कीपछि महत अर्थमन्त्री बनेका हुन् । नेपालको अर्थतन्त्रको जग कांग्रेसकै अर्थमन्त्री डा.रामशरण महत भएका बेलादेखि हो । प्रकाशशरण रामशरणकै भाइ हुन् । उनी अहिले कांग्रेसका प्रवक्ता हुन् । उनी समानुपातिक कोटाबाट सांसद बनेका हुन् ।

डा. महत नेपाल विद्यार्थी संघको महासचिव थिए । कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा उनले एक्सन कमिटीमा रहेर काम गरेका थिए ।०५५/५६ देखि नेपाली कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गर्ने मौका पाएका महत ०५९ देखि निरन्तर कांग्रेसको केन्द्रीय सदस्य छन् । ०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र ०७९ को मंसिरमा सम्पन्न प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको संयोजकको भूमिका सफलतापूर्वक सम्पन्न गरेका हुन् ।

०६३ को अन्तरिम व्यवस्थापिकाको सदस्यको रूपमा व्यवस्थापिकाको यात्रा आरम्भ गरेका डा. महतले पहिलो संविधानसभा ०६४ देखि ०६९ र दोस्रो संविधानसभा ०७० देखि ०७४ सम्म विधायक बनेका थिए ।

सरकारले ०५६ मा गठन गरेको माओवादी समस्या समाधान समितिको सदस्य सचिवको जिम्मेवारी निर्वाह गरेका महतलाई प्रधानमन्त्रीले ०५८ देखि ०५९ सम्म सल्लाहकार नियुक्त गरेका थिए । उनी ०५८ चैतदेखि ०५९ असोजसम्म राष्ट्रि«य योजना आयोगको सदस्यमा नियुक्त भएका थिए । उनले ०६१ जेठदेखि ०६१ माघ १९ सम्म परराष्ट्र राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । ०६६ देखि ०६७ सम्म उनी ऊर्जामन्त्री भएका थिए ।

डा. महतले अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी उपाधि हासिल रेका हुन् । उनले सोही राज्यको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र ( पोलिसी इकोनोमिक्स) मा स्नातकोत्तर गरेका छन् । महतले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा नेपाली कांग्रेसको पहिलो जननिर्वाचित सरकारले लिएको आर्थिक नीतिमा थेसिस गरेका महतले ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ नामक पुस्तक पनि लेखेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *