२५ करोड लगानीमा कपिलवस्तुमा आधुनिक कोल्ड स्टोरेज सञ्चालनमा

कपिलवस्तु । कपिलवस्तुमा नेपालकै आधुनिक चिस्यान केन्द्र (कोल्ड स्टोरेज) सञ्चालनमा ल्याइएको छ । बुद्धभूमि नगरपालिका–१० करिब डेढ बिघा जग्गाको क्षेत्रफलमा २५ करोड स्थिर र चालू लगानीमा स्टोरेज सञ्चालन गरिएको हो ।

युवा व्यवसायी आशीष शर्माले २५ सय टन क्षमताको आधुनिक प्रविधियुक्त मोडिफाइड एटमोसफेर कोल्ड स्टोरेज सञ्चालनमा ल्याएका हुन् । स्टोरेज पूर्ण क्षमतामा सञ्चालनमा आउँदा करिब ८० जना श्रमिकले प्रत्यक्ष रोजगारी पाउनुका साथै किसानको तरकारीलाई केही समय स्टोरेज गर्दा उत्पादनलाई कम मूल्यमा बिक्री गर्नुपर्ने समस्या समाधान हुने देखिएको शर्माले जानकारी दिए ।

यो कोल्ड स्टोरेजमा तापक्रम, आद्रता, अक्सिजन, कार्बनडाइअक्साइड र एथेलिन व्यवस्थापनको क्षमता रहेकाले नेपालकै आधुनिक कोल्ड स्टोरेज भएको उनको दाबी छ । उनका अनुसार कोल्डस्टोरेजमा रहेका आठवटा च्येम्बरलाई तरकारी, कृषिउपज र फ्रुजन (स्विट कोर्न, मटर कोसा र फिंगर चिप्स) लाई जीवन अवधि बढाउन मिल्ने गरी तयार पारिएको छ । ती सामग्रीलाई व्यवस्थापन गर्न अटोमेटिक मेसिनद्वारा फ्रुजन चेम्बरको प्रविधिसहित शून्य डिग्रीदेखि माइनस २५ डिग्रीसम्मको तापक्रम व्यवस्थापन गरिएको छ ।

स्टोरेजमा अदुवा, लसुन, प्याज, गोलभेंडा, गाँजर र अंगुर जस्ता चाँडै बिग्रिने तरकारी र फलफूल भण्डार गर्न सकिने भएको छ । स्टोरेजमा ६ सय टन मुस्ताङ र काभ्रेको पाँचखाल आलु भण्डारण गरिएको छ । अहिले स्टोरेजमा १४ सय टन आलु, एक सय १५ टन गाँजरसँगै प्याज, बन्दा, अंगुर र फ्रुजनहरु भण्डारण गरिएको शर्माले जानकारी दिए ।

स्थानीयस्तरमा उत्पादन हुने तरकारी भण्डारण अभावमा कम मूल्यमा बेच्नुपर्ने र भारतबाट आयातित तरकारीसमेत चिस्यान व्यवस्थापन नहँुदा २० प्रतिशत बिग्रने समस्या देखेपछि आधुनिक कोल्ड स्टोरेज सञ्चालनमा ल्याएको शर्माले बताए । स्टोरेज खोल्नुअघि यस विषयमा अध्ययन गर्न आफू भारतका विभिन्न स्थानका ४५ वटा कोल्ड स्टोरेजमा पुगेको उनले जानकारी दिए । चाँडै बिग्रने गोलभेंडा र कागतीलाई एक महिनासम्म भण्डारण गरी मूल्य बढेका बेला बिक्री गर्नेगरी योजना अगाडि बढाइएको उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *