बैंकिङ क्षेत्र र अर्थतन्त्र ठीकठाक छ ः बैंकर्स संघ


काठमाडौं । नेपाल बैंकर्स संघले वर्तमान बैंक तथा वित्तीय क्षेत्र र अर्थतन्त्रको विषयमा पनि जानकारी गरायो । प्रत्येक महिना पत्रकार सम्मेलनको आयोजना गरेर बैंक तथा वित्तीय क्षेत्रको वर्तमान परिस्थितिको विषयमा जानकारी गराउने बैंकर्स संघले देशको अर्थतन्त्र ठीकठाक भएको बताएको छ । विगतको महिनाहरुको तुलनामा अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको बताउँदै यसले बैंक तथा वित्तीय क्षेत्रसँगै अर्थतन्त्र पनि सुधारको अवस्थामा भएको बैंकर्स संघको तर्क छ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल के. सीले अर्थतन्त्र र बैंक तथा वित्तीय क्षेत्र पनि सुधारको दिशामा रहेको र अहिले अर्थतन्त्र सकारात्मक नै रहेको धारणा राखे । उनले अहिले बैंक तथा वित्तीय क्षेत्रमा निक्षेप बढ्दै गइरहेको, बैंकिङ क्षेत्रमा तरलता सहज हुँदै गएको र कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि सुधार हुँदै गएकोले यसले अर्थतन्त्रमा पनि सकारात्मक सन्देश प्रवाह गर्ने धारणा राखे । ‘हामीलाई केही प्रेसर खराब कर्जाको हो, तर अन्य देशको तुलनामा हामी सन्तुलित अवस्थामा छौं, निर्माण, सिमेन्ट र अटो लगायत क्षेत्रमा रिकभरीको समस्या हुँदा खराब कर्जा बढेको थियो, अब ती क्षेत्रमा पनि सुधार भएको हामीले महसुस गरेका छौं, अर्थतन्त्र सही दिशामा रहेको हाम्रो बुझाइ हो, असार मसान्तमा पनि अहिलेको हाराहारीमा नै खराब कर्जाको अनुपात रहन्छ । उनले अब सरकारको खर्च पनि बढ्ने भएकोले बैंकको निक्षेपमा सुधार हुने धारणा राखे । उनले अहिलेसम्म बैंकको निक्षेपमा ३ खर्बको वृद्धि भएको बताउँदै अझै २ खर्ब रुपैयाँ निक्षेप बढ्ने अनुमान बैंकर्सको रहेको धारणा राखे । ‘असारसम्म थप २ खर्ब निक्षेप बढ्ने अनुमान गरेका छौं, अहिलेसम्मको कर्जा विस्तार हेर्दा आगामी दुई महिनामा थप डेढ खर्ब कर्जा विस्तार हुने अनुमान छ, बैंक वित्तीय संस्थाको पुँजी पर्याप्त अनुपात कसिलो हुँदै गएकाले कर्जा विस्तार घटेको हो, अब बैंकिङ क्षेत्र सुधार हुँदै जाने हाम्रो अनुमान छ ।
यस्तै, हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले बैंकको खराब कर्जा बढ्दा खासै ठूलो असर नपर्ने बताएका छन् । नेपाल बैंकर्स संघका सल्लाहकार समेत रहेका उनले अहिले बैंक तथा वित्तीय संस्थाको खराब कर्जाको अनुपातको विषयमा चौतर्फी चिन्ता व्यक्त भएपनि यसले खासै ठूलो असर नपर्ने बताएका हुन् । उनका अनुसार नेपाली बैंकहरुको पुँजी र जगेडा कोष बलियो भएकोले पनि बढेको खराब कर्जाले खासै असर गर्दैन । उनले ब्याजदर घट्दै गएकाले बजार चलायमान हुने विश्वास व्यक्त गरे । ‘खराब कर्जा बढे पनि नेपालका बैंकहरू बलियो अवस्थामा छन्, हाम्रो पुँजी र जगेडा कोष बलियो छ, बढेको खराब कर्जाले ठूलो समस्या सिर्जना गर्छ भन्ने छैन ।
सूचकले के भन्छ
पछिल्लो एक महिनामा वाणिज्य बैंकहरुमा निक्षेप १२ अर्बले बढेको छ । चैतमा ४८ खर्ब २८ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप बैशाखमा बढेर ४८ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, जेठ २ गतेसम्ममा बैंकहरुले ४८ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । समीक्षा अवधिमा निक्षेप बढे पनि कर्जा लगानी भने घटेको छ । चैतमा ४३ खर्ब ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले बैशाख मसान्तसम्ममा ४२ खर्ब ९९ अर्ब रुपैयाँमा सीमित भएका छन् ।
यस्तै, बैंकहरुको सीडी रेसियो पनि सहज हुँदै गएको छ । गत साउनमा ८८.०७ प्रतिशत रहेको सीडी रेसियो भदौमा ८८ प्रतिशत, असोजमा ८७.२० प्रतिशत, कात्तिकमा ८७.१९ प्रतिशत, मंसिरमा ८६.५० प्रतिशत, पुसमा ८६.१४ प्रतिशत, माघमा ८६.३९ प्रतिशत, फागुनमा ८५.७३ प्रतिशत र चैतमा ८५.१९ प्रतिशत छ भने बैशाखमा ८४.८८ प्रतिशत कायम भएको छ । बैंकको आधारदर निक्षेप र कर्जाको ब्याजदर पनि घट्दो क्रममा छ । पछिल्लो तीन महिनामा बैंकको कर्जाको ब्याजदर घटेको देखिन्छ । माघ महिनामा औसत १३.०३ प्रतिशत रहेको कर्जाको ब्याजदर फागुनमा पनि १३.०३ र चैतमा १२.८४ प्रतिशत छ । निक्षेपको ब्याजदर पनि घट्दो ट्रेण्डमा छ । गत माघमा औसत ८.४१ प्रतिशत रहेको बैंकको निक्षेपको ब्याजदर फागुनमा ८.३७ प्रतिशत र चैतमा ८.२६ प्रतिशत कायम भएको छ । यस्तै, आधारदर पनि घट्दै गइरहेको छ । माघ महिनामा औसत १०.७२ प्रतिशत रहेको आधारदर फागुनमा १०.६४ प्रतिशत र चैतमा १०.४८ प्रतिशत कायम भएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षाले गरेका केही नीतिगत व्यवस्थाले पनि अर्थतन्त्र थप सहज हुने संघको विश्वास छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *