आरोपीका बयान धमाधम लिक भएपछि गृहमन्त्री र आईजीपीबीच छलफल

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको क्रममा भेटिएका विषय धमाधम मिडियामा आउन थालेपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आईजीपी वसन्त कुँवरसँग छलफल गरेका छन् । बुधबार भएको भेटमा अधिकांश अतिरिक्त महानिरीक्षक (एआईजी) हरू पनि सहभागी थिए ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपीले प्रहरी र सरकारी वकिललाई दिएको बयान हुबहु भन्दै मिडियामा आइरहेका छन् । जसकारण अनुसन्धान प्रभावित हुनसक्ने आशंका गरिएको छ । त्यति मात्र होइन, आरोपीले बयानमा नाम पोलेको, यति करोड दिएको भन्दै समाचार आउन थालेपछि चौतर्फी आलोचना हुन थालेको छ ।

विगतमा राज्यविरुद्धको कसुरमा पक्राउ परेका अभियुक्तहरूसँग लिइएको बयान अनुसन्धान नसकी सार्वजनिक हुँदैनथ्यो । तर अहिले शरणार्थी प्रकरणमा पक्राउ परेका सबैको बयान मिडिया र सामाजिक सञ्जालमा आइसकेको छ ।

यसका साथै प्रहरी प्रमुख कुँवरको नामसमेत मुछेर अनुसन्धान प्रभावित पार्ने खेल सुरु भएपछि गृहमन्त्री श्रेष्ठले बुधबार उच्च प्रहरी अधिकृतहरूसँग भेटघाट गरेका हुन् । मन्त्री श्रेष्ठले बयान लिक भएकोमा आपत्ति जनाएका थिए । आईजीपी श्रेष्ठले पनि कसरी लिक भएको हो भनी मातहतका प्रहरी अधिकृतलाई प्रश्न सोधेका छन् ।

स्रोतका अनुसार अहिले आरोपीहरूको बयान लिक गर्ने काम काठमाडौं उपत्यका प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीबाट भइरहेको छ । मेट्रोमा एआएईजी श्यामलाल ज्ञवाली छन् । उनी प्रहरी प्रमुख बन्न चाहन्थे । यही बेला उनले बदला लिएको हुन सक्ने आशंका गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *