आर्थिक वर्ष २०८०।०८१ को बजेट आज प्रस्तुत हुँदै


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०।०८१ को वार्षिक आयव्यय (बजेट) अर्थमन्त्री डा. प्रकाशशरण महतले आज अपराह्न संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् । सरकारले आर्थिक सुधार गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट ल्याउने भएको छ । १७ खर्बभन्दा केही रकम बढ्ने गरेर अर्थ मन्त्रालयले बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट आएको थियो, जसलाई मध्यावधि समीक्षामार्फत घटाएर १५ खर्ब ४९ अर्ब खर्च हुने अनुमान गरिएको थियो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री महतले बजेटमा आर्थिक सुधारसहित अनावश्यक बोझ भएका समितिहरु खारेज गर्ने घोषणा बजेटमा गर्नेछन् ।बजेटमा विगतमा जस्तो स्रोत सुनिश्चित नभएका परियोजनामा रकम विनियोजन नहुने र सुधारको कार्यक्रमलाई समावेश गरिनेछ । “आन्तरिक उत्पादन बढाउने र जनतालाई केही महसुस हुने कार्यक्रमको बजेटमा घोषणा हुने छ,” स्रोतले भन्यो । अर्थमन्त्री महतले बजेटमा नयाँ ठूला परियोजना भने घोषणा गर्ने छैनन् । सांसद विकास कोष कार्यक्रम नराख्नेमा करिब सहमति देखिएको छ । चल्न नसकेका केही सार्वजनिक संस्थानको निजीकरण तथा मर्जरको घोषणा बजेटमा हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *