जसपा कोसी सरकारबाट बाहिरियो, नैतिक दबाबमा माओवादी

काठमाडौं । जसपा कोसी प्रदेश कमिटीको बैठकले एमालेका हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको छ । जसपाले सरकारबाट बाहिरिने निर्णय गरेसँगै माओवादी नैतिक दबाबमा परेको छ। केही समयअघि नेपाली कांग्रेसले कोसी सरकारबाट बाहिरिन माओवादी र जसपालाई लिखित आग्रह गरेको थियो ।

जसपाबाट स्वास्थ्यमन्त्री बनेकी निर्मला लिम्बूलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जसपा प्रदेश कमिटीले जनाएको छ।
प्रदेशमै एक मात्र सांसद भएको जसपाबाट लिम्बू स्वास्थ्यमन्त्री नियुक्त भएकी थिइन्।

९३ सदस्यीय प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका चार र जसपाको एक सांसद छन्। एमाले र राप्रपा एक ठाउँमा छन् भने कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा एउटा गठबन्धनमा छन्। प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ, तर सभामुखबाहेक दुवै पक्षमा समान ४६ मत पुग्छ ।

एमालेको ४०, माओवादीको १३ र राप्रपाको ६ जोड्दा ५९ हुन्छ । जुन सरकारका लागि स्पष्ट बहुमत हो । तर जसपा बाहिरिएसँगै माओवादीलाई पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिन दबाब परेको छ । यदि माओवादी पनि बाहिरिएमा मुख्यमन्त्री कार्की अल्पमतमा पर्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *