लोकतन्त्र बलियो बनाउन काँग्रेसलाई बलियो बनाउनुपर्छ ः देउवा


भक्तपुर । नेपाली काँग्रेस भक्तपुरको जिल्ला सम्मेलन शनिवार उद्घाटन गर्दै नेपाली काँग्रेसका सभापति एवं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र बलियो बनाउन काँग्रेसलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । सभापति देउवाले लोकतन्त्रमा फेरी सङ्कट आउन नदिन काँग्रेसलाई बलियो बनाउनुपर्ने बताउनुभएको हो । उहाँले काँग्रेस बलियो बनाउन सङ्गठन बिस्तार गरी गाउँ गाउँ र टोल टोलमा पुर्‍याउनु पर्ने बताउनुभयो । उहाँले त्यसका लागि काँग्रेसले विधानमा टोल इकाई समितिको व्यवस्था गरेको बताउँदै यसले पार्टीको सङ्गठनलाई गाउँ गाउँमा, घरघरमा, वडा वडामा पु¥याएर यो पार्टीलाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । हाम्रो पार्टी ऐतिहासिक पार्टी छ । २००७ सालदेखि लड्दै आएको पार्टी हो । यो पार्टी ग्रास रुट, गाउँसम्म, वडासम्म, टोलसम्म पु¥याएर यो पार्टी बलियो बनाए मात्रै प्रजातन्त्रलाई अझ बलियो बनाउन मद्दत पुग्छ । यो पार्टी जति बलियो हुन्छ, जति सक्षम हुन्छ । त्यति नै मात्रामा देशमा प्रजातन्त्र सुदृढ भएर जान्छ । त्यसपछि मात्रै नेपालमा फेरि प्रजातन्त्रमा सङ्कट आउँदैन उहाँले भन्नुभयो । नेपाली काँग्रेस जिल्ला सभापति दुर्लभ थापालाई मन्त्री बनाउनु पर्ने माग सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सरकार गठबन्धनको भएको र सरकारमा रहेका दलहरूबिच सहमति हुन जरुरी भएकोले कतिपय विषय पार्टीले चाहेर मात्र पुरा नहुने बताउनुभयो । उहाँले मुलुकको संसद्को आकार, निर्वाचन प्रणालीका विषयमा संविधान संशोधन आवश्यक भएको बताउँदै त्यस्ता विषयमा सबै राजनीतिक दलको सहमति र ऐक्यबद्धता आवश्यक भएको बताउनुभएको थियो ।
गुट उपगुटले पार्टीलाई समाप्त पार्ने भएकाले त्यस्ता गुट उपगुट अन्त्य हुनुपर्छ ः शेखर कोइराला


नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेता शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली काँग्रेस वडा देखि प्रतिनिधिसभा सम्म एक्लै निर्वाचनमा होमिने बताउनुभएको छ । नेपाली काँग्रेस भक्तपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा नेपाली काँग्रेस गठबन्धन विना नै एक्लै चुनावमा होमिने बताउनुभएको हो । पार्टी विधि र विधान अनुसार चल्नुपर्ने बताउँदै आगामी निर्वाचनमा वडा देखी केन्द्रसम्म एक्लै निर्वाचन लड्ने तयारी अहिले देखी गर्नुपर्ने सुझाव दिनुभयो । पार्टी सञ्चालन गर्दा कतै विधि विधान अनुसार नचलेको हुन सक्छ, कतै मिचिएको हुन सक्छ । यसले पार्टी कमजोर बनाउँछ । पार्टीलाई विधि सम्मत चलाएर आगामी निर्वाचनमा वडा देखी केन्द्रसम्म एक्लै निर्वाचन लड्ने वातावरण बनाउनुपर्छ, उहाँले भन्नुभयो ।


कोइरालाले काँग्रेसमा गुट उपगुट छैन भन्ने परिस्थिति नभएको बताउँदै गुट उपगुटले पार्टीलाई समाप्त पार्ने भएकाले त्यस्ता गुट उपगुट अन्त्य हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले पार्टी कहिल्यै कमजोर नभएको जिकिर गर्दै काँग्रेस नेता कार्यकर्ताको मानसिकता कमजोर भएको बताउनुभयो । अग्रजले भनेका कुरा बिर्सिने कमजोरी गर्‍यौँ । कतै बाटो बिराएको होला । तर काँग्रेस कमजोर भएको छैन । काँग्रेस कमजोर भयो भन्ने मानसिकता कमजोर हो, उहाँले भन्नुभयो । उहाँले मिश्रित निर्वाचन प्रणालीले लोकतन्त्र र काँग्रेस दुवैलाई कमजोर पार्ने भएकाले निर्वाचन प्रणाली सुधारका लागि काँग्रेसले पहल गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले पार्टीलाई जनतासँग जोड्नुपर्नेमा जोड दिँदै जनतासँग कसरी घुलमिल हुन्छ त्यसरी काँग्रेस अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले जनतासँग जोड्न सकिएन पार्टी नै समाप्त भएर जान सक्ने चेतावनी समेत दिनुभयो । यस कार्यक्रममा बागमती प्रदेश सभापती ईन्द्र बहादुर बाँनिया, सह महामन्त्री बद्री पाण्डे ,लगायतका नेताहरुले आ आफ्नो मन्तब्य राखेका थिए । जिल्ला सम्मेलन आज नै समाप्त भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *