मुद्दा विषयान्तर गर्न खप्पिस प्रचण्ड किन लगाउँदैछन् नेकपा ब्यूँताउने रटान ?

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुद्दा विषयान्तर गर्न माहिर छन् । आफू कमजोर र विवादमा पर्न थालेपछि उनले भइरहेका मुद्दा विषयान्तर गरेर आफूलाई केन्द्रमा राख्ने गर्छन् । विगतमा पार्टीमा मोहन वैद्य किरण र बाबुराम भट्टराई त कहिले रामबहादुर थापा बादल र नेत्रविक्रम चन्द विप्लवलाई एकअर्कालाई जुधाएर राजनीति गर्दै आएका प्रचण्ड अहिले वर्षमान पुन र जनार्दन शर्मालाई आपसमा भिडाइरहेका छन् । त्यतिले नपुगेर उनले विप्लवलाई पार्टीमा भित्र्याउन लागेका छन् ।

आफू अनुकूल देशको राजनीति चलाउन खोज्ने प्रचण्डले आफ्नै अगुवाइमा दुई साताअघि समाजवादी मोर्चाको घोषणा गरे । एमालेलाई देखाउन मोर्चा बनाएर कांग्रेसलाई तर्साउन खोज्ने प्रचण्ड अहिले नेकपा ब्यूँताउन खोजिरहेका छन् । यो कुराले कांग्रेस, एमालेमा पनि जबर्जस्त बहस सिर्जना गरेको छ । उनले माओवादी घटकहरुबीचको एकता र पुरानै नेकपा ब्युँताउने कुरा गर्न थालेका छन् ।

शनिबार पोखरा पुगेर प्रचण्डले माओवादी घटकहरुबीचको एकता प्रयासले मूर्त रुप पाउन लागेको बताएका थिए । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेकपा विघटनलाई गम्भीर त्रुटि भन्दै आत्मसमीक्षा गरेर नेकपा ब्युँताउनुपर्नेमा जोड दिए । समाजवादी मोर्चा घोषणा वामपन्थी एकताको सुरुवात भएको उनको भनाइ थियो । तर, उनकै अगुवाइमा असार ४ गते बनाइएको समाजवादी मोर्चा घोषणामै सीमित छ । मोर्चालाई अघि बढाउने विषयमा अहिलेसम्म छलफलसमेत भएको छैन ।

समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी छन् । यो मोर्चाले गति लिन नपाउँदै मोर्चाकै दुई शीर्ष नेता प्रचण्ड र माधवकुमार नेपाल नेकपा ब्युँताउनुलाई अहिलेको आवश्यकता ठान्दैछन् । नेकपा ब्युँताउन एमाले पनि तयार हुनुपर्ने भए पनि उसले यसमा चासो देखाएको छैन । नेकपा ब्युँताउने एजेन्डालाई एमालेले प्रचण्डको सत्ता टिकाउने अस्त्रको रुपमा मात्रै बुझेको छ ।

नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरणको असर सत्ता समीकरणमा पनि पर्न सक्ने आकलनसहित प्रचण्डले शक्ति सन्तुलन मिलाउन मोर्चाबन्दी र पार्टी एकताको पहल थालेको धेरैको बुझाइ छ । त्यही भएर सोमबार आयोजित कार्यक्रममा प्रचण्डले कम्युनिस्टबीच एकता हुँदा कांग्रेस डराउनुपर्ने कुनै कारण नभएको जिकिर गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *