चैते धान रोप्ने किसानलाई प्रोत्साहन

काठमाडौं । चैते धान र व्यावसायिक तरकारी खेती गर्ने पोखरा महानगरपालिका वडा नं २६ र २७ का किसानलाई महानगरको कृषि महाशाखाले प्रोत्साहन रकम वितरण गरेको छ । दुवै वडाका गरी कूल चार सय १६ किसानलाई आइतबार वडाध्यक्ष, महानगरका प्रतिनिधिलगायतको उपस्थितिमा प्रोत्साहन रकम बाँडिएको हो ।

वडा नं २६ मा चैते धान खेती गर्ने दुई सय ९५ किसानलाई रु आठ लाख ३८ हजार नौ सय ६८ र व्यावसायिक तरकारी खेती गर्ने चार किसानलाई रु तीन लाख ३२ हजार एक सय ५० प्रदान गरिएको हो ।

वडा नं २७ मा चैते धान लगाउने एक सय दुई किसानले रु तीन लाख ४८ हजार एक सय ५० र तरकारी खेतीमा लागेका १५ किसानले रु तीन लाख ७८ हजार छ सय १३ बुझेका थिए । चैते धान खेती गर्ने किसानलाई प्रति रोपनी रु नौ सयका दरले प्रोत्साहन रकम दिइएको महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । तरकारीतर्फ प्लास्टिक घर (टनेल) मा खेती गर्नेलाई प्रति वर्गमिटर रु एक सय ३० र तरकारीको क्षेत्र विस्तार गर्नेलाई प्रति रोपनी रु दुई हजारका दरले प्रदान गरिएको हो ।

महानगरले चलाएको ‘एक वडा, एक पकेट कार्यक्रम’अन्तर्गत चैते धान विस्तारका लागि वडा नं २६ र २७ का किसानलाई प्रोत्साहन रकम प्रदान गरिएको कृषि महाशाखा प्रमुख कडरियाले बताए । “चैते धान खेतीको क्षेत्रफल घट्दै जान थालेपछि हामी यसको प्रवद्र्धन गर्नुपर्छ भनेर लाग्यौँ, गत वर्षदेखि उन्नत जात लगाउन सुरु भएको छ, उत्पादन बढेपछि किसान पनि खुसी हुनुहुन्छ”, उनले भने , “चैते धान खेती विस्तारमा किसानलाई आकर्षित गर्न प्रोत्साहनको कार्यक्रम ल्याइएको हो, यसले निरन्तरता पाउँछ ।”

उत्पादनमा आधारित प्रोत्साहन रकम दिन थालेपछि वास्तविक किसानलाई लाभ मिलेको महाशाखा प्रमुख कडरियाले उल्लेख गरे । महानगरले चैते धान, गहुँ, सुन्तला, उखु, तरकारी, आलु, मौरीपालनलगायतलाई लक्ष्य गरी प्रोत्साहन कार्यक्रम सञ्चालन गरिरहेको छ । पोखरा–२६ मा व्यावसायिक तरकारी खेती गर्दै आएका बागलुङका कर्ण पुनले महानगरले दिएको प्रोत्साहन रकमले आफूलाई हौँसला मिलेको प्रतिक्रिया दिए । उनले रु एक लाख ५१ हजार प्रोत्साहन रकम प्राप्त गरेका थिए । पुनले १७ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन ।

तरकारी खेतीलाई अझ विस्तार गर्ने सोचमा छु, कृषि व्यवसायबाट सन्तुष्ट छु”, उनले भने
, “मेहनत गर्ने हो भने वर्षमा रु दस÷बाह्र लाख कमाउन विदेश जानु पर्दैन, कृषिमा खटेर लाग्नेलाई सरकारले पनि हेर्छ, अनुदान आउँछ ।” पुनले खेतीयोग्य जग्गा नासिँदै गएकामा भने चिन्ता व्यक्त गरे । वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले किसानको हितमा वडाबाट पनि सक्दो कार्यक्रम ल्याउने बताए । उनले प्रोत्साहन रकमसँगै किसानलाई सिँचाइलगायतका सुविधा र प्रविधिको खाँचो रहेको उल्लेख गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *