प्रधानमन्त्री प्रचण्ड फर्किए स्वदेश , चीन भ्रमणमा भएका मुुख्य सम्झौताहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ समकक्षी लि छियाङसँग भएका सम्झौता सार्वजनिक गरेका छन् । चीनको एकसाता लामो औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै चीनसँग भएका सम्झौताहरु सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी लिसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो । सो क्रममा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले सो भेटमा नेपालको उत्तरी सीमा क्षेत्र चीन तर्फबाट प्रसारणलाइन निर्माण, नेपाल–चीनको सिमामा रहेको केन्द्रीय विद्युत् प्रसारण प्रणालीबाट विद्युतको पहुँच पुर्याउन नसकिने स्थानहरूमा सौर्य प्रणाली जडान, विभिन्न स्थानमा सडक निर्माण तथा स्तरोन्नतिलगायतका पूर्वाधार विकासका बारेमा छलफल बताए । साथै, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग विस्तार, कोभिडपछि अवरुद्ध भएका साथै परम्परागत सीमा नाकाहरूको पुनः सञ्चालन, सीमा नाकामा नेपालतर्फ पूर्वाधार निर्माणजस्ता पूर्वाधार विकासमा केन्द्रित छलफल र सम्झौता भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डका अनुसार उक्त भेटवार्तामा विज्ञान र प्रविधिको क्षेत्रमा सहकार्य गर्ने, द्विपक्षीय व्यापार विस्तार गर्ने, पोखरा तथा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ शहरहरूबाट हवाई सेवा विस्तार गर्ने लगायतका विषयमा समेत गहन छलफल भएको थियो ।

साथै, नेपालको आवश्यकताअनुसार चिनियाँ पक्षले अरनिको राजमार्गको मर्मत परियोजनाको चौथो चरण सुरु गर्ने, रसुवा स्याफ्रुबेसी सडक मर्मतका लागि चिनियाँ पक्ष तयार हुनुका साथै हिल्सा–सिमिकोट सडकको सम्भाव्यता अध्ययन अघि बढाउन दुवै पक्ष सहमत भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । यस्तै, दुवै पक्षले टोखा छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययनलाई तीव्र गतिका साथ अगाडि बढाउने सहमति जनाउँदै काठमाडौँ चक्रपथ परियोजनाको दोस्रो चरणको कार्यान्वयनलाई तीव्रता दिने सहमति भएको छ ।

यस्ता छन् चीनसँग भएका मूख्य सम्झौताहरु

–हिल्सा–सिमिकोट सडक परियोजना र नेपाल–चीन पावर ग्रीड इन्टर कनेक्सन परियोजना सम्बन्धी समझदारी पत्र ।
–कृषि, पशुपन्छी तथा मत्स्यपालनका क्षेत्रमा सहकार्य सम्बन्धी समझदारी पत्र ।
–शास्त्रीय महत्त्वका पुस्तकहरूको अनुवाद र प्रकाशनसम्बन्धी समझदारी पत्र ।
–हरित तथा न्यून कार्बन विकासका क्षेत्रमा सहकार्य सम्बन्धी समझदारी पत्र ।

–डिजिटल अर्थतन्त्रका क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारी पत्र ।
–नेपाल चीन व्यापार तथा भुक्तानी सम्बन्धी सहमतिको समीक्षा तथा परिवर्तनका लागि संयुक्त कार्यदल गठन सम्बन्धी समझदारी पत्र ।

–शिक्षा, विज्ञान तथा नवीनताका क्षेत्रमा सहकार्य सम्बन्धी समझदारी पत्र ।
–नेपालको राष्ट्रिय योजना आयोग र जनवादी गणतन्त्र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच सहकार्य सम्बन्धी समझदारी पत्र ।
–वनस्पतिमा आधारित औषधीजन्य सामग्री नेपालबाट चीनमा निर्यात गर्ने सम्बन्धमा बिरुवा स्वस्थता शर्तसम्बन्धी प्रावधान समेटिएको प्रोटोकल ।
–चिनियाँ पक्षबाट विपद् राहत सामग्री हस्तान्तरण सम्बन्धी पत्रको आदानप्रदान
–चिनियाँ सरकारबाट उपलब्ध गराइएका विभिन्न सामग्री हस्तान्तरण सम्बन्धी प्रमाणपत्र
–नेपाली सरकारी कर्मचारीहरूलाई तालिम प्रदान गर्ने सम्बन्धी पत्रको आदानप्रदान ।
–नेपाल र चीनबीच परम्परागत नाकाका अतिरिक्त अन्तर्राष्ट्रिय व्यापार नाकाहरू सुचारु गर्ने

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *