चीनबाट सोझै पोखरा विमानस्थलमा हवाई उडान गर्नेबारे छलफल छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको हवाई उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्ने बारेमा सकारात्मक छलफल भएको बताएका छन् ।

आज अमेरिका र चीन भ्रमणपछि स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले चीनसँगको व्यापार, लगानी, अन्तर्देशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दे लैजाने बारेमा छलफल भएको बताए । उनले दुई देशबीच भएको समझदारीहरू र अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तमा आधारित भई अघि बढाउने सहमति भएको पनि बताए । नेपालको आवश्यकताअनुसार चिनियाँ पक्षले अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरण सुरु गर्ने सहमति भएको पनि उनले बताए । उनले स्याँप्रुबेसी रसुवागढी र सडक मर्मतका लागि चिनियाँ पक्ष तयार भएको र हिल्सा सिमिकोट सडकको अध्ययन सम्भाव्यता अध्ययन गरी अघि बढाउन सहमत भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले चीनसँग टोखा—छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तीव्र गतिका साथ अघि बढाउने, काठमाडौँ चक्रपथ सडकको दोस्रो चरणको कार्यान्वयनलाई तीव्रता दिने सहमति भएको पनि बताए । त्यसै गरी उनले नेपाल—चीन रेल्वे सहयोगका लागि कार्यदलको आठौँ बैठक छिटै गर्नेमा सहमति लगायत १२ वटा समझदारी पत्रमा हस्ताक्षर भएको बताए ।

नेपाल र चीनबीच परम्परागत नाकाका अतिरिक्त अन्तर्राष्ट्रिय व्यापार नाका सञ्चालन हुने उनको भनाइ छ । उनले मुस्ताङको कोरला नाका खोल्नुका साथै किमाथांका र ओलङचुङगोला चाँडै सञ्चालनमा ल्याउने सहमति भएको बताए । मुस्ताङको कोरला नाकामा चीनले पूर्वाधारमा सहयोग गर्ने सहमति भएको, तिब्बत र नेपालको रेल, सडक, हवाई सेवा विद्युत् प्रसारण लाइन सबै क्षेत्रबाट जोडेर ट्रान्स हिमालयन मन्टी डाइमेन्सनल कनेक्टिभिटीको विषयलाई व्यवहारमा उतार्नेबारेमा छलफल भएको र लासाबाट काठमाडौँ हवाई सेवा पुनः सुचारु गर्नसमेत अनुरोध गरेको प्रचण्डले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *