एमाले कोसी अधिवेशनमा चार जिल्लाबाट सर्वसम्मत सदस्य चयन


काठमाण्डौं । नेकपा (एमाले) कोसी प्रदेश कमिटीको अधिवेशनबाट चार जिल्ला इलाम, ताप्लेजुङ, खोटाङ र सोलुखुम्बुबाट सर्वसम्मत सदस्य चयन भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार इलामबाट खुलातर्फ १० र महिलातर्फ पाँचजना निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी ताप्लेजुङबाट आठ, सोलुखुम्बुबाट आठ र खोटाङबाट ९ जना सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् । अन्य जिल्लामा समेत सर्वसम्मतिको प्रयास भइरहेको मुख्य निर्वाचन अधिकृत चुणामणि आचार्यले जानकारी दिए । उनका अनुसार आइतबार बिहान ९ बजेसम्म उमेदवारी फिर्ता लिने समय छ । उमेदवारी फिर्ता गर्ने समय पूरा भएपछि सहमति हुन नसकेका पदमा निर्वाचन हुनेछ । अध्यक्ष केपी ओलीले सहमतिको आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएपनि अध्यक्षसहितका पदमा शनिबार अबेरसम्म मनोनयन परेको थियो । अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा हुने भएको छ ।

उपाध्यक्षमा अहिलेका उपाध्यक्ष टीकाराम चेम्जोङको मात्र उमेदवार परेको छ । उनी धनकुटाका हुन् । यसैगरी सचिवमा उदयपुरका शैलेश लामा र पाँचथरका राजकुमार भण्डारीबीच चुनावी भिडन्त हुने भएको छ । दुई उपसचिवमा चारजनाको मनोनयन परेको छ । खोटाङका देवान राई, संखुवासभाका भविश्वर गुरूङ, झापाका जलवर्षा राजवंशी र मोरङका खेम नेपालीले उपसचिवमा उमेदवारी दर्ता गराएका छन् । अधिवेशनस्थल मनास्लु पार्टी प्लालेसमा शनिबार साँझसम्म मनोनयन दर्ता गराउने एमाले नेता कार्यकर्ताको भिड थियो । अधिवेशनबाट २१५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ । चुनावमा ९९७ जना प्रतिनिधिले मतदान गर्नेछन् । यसैबीच अध्यक्षमा उठेका ढकाललाई नेता भीम आचार्यले समर्थन गरिरहँदा अर्का प्रत्यासी खतिवडालाई रघुवीर महाशेठ, शेरधन राईलगायत नेताले साथ दिएका छन् । खतिवडालाई नै अध्यक्ष बनाउन दबाब आएपनि ढकालले ‘चुनावी प्रक्रियामै जाने’ भनेका थिए । ढकाल दुई पटक पार्टीको मोरङ जिल्ला हाँकेका नेता हुन् । यसैगरी खतिवडा प्रतिनिधिसभाका पूर्वसांसद हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *