काठमाडौंका यी तीन सडक आजबाट एकतर्फी

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका ३ वटा सडक खण्ड बुधबारदेखि एकतर्फी बनाइएको छ ।

महानगरपालिकाका अनुसार, सडक भएको वडाका जनप्रतिनिधि, ट्राफिक प्रहरी कार्यालय र महानगरपालिकाको संयुक्त प्रयासमा आजसम्म दोहोरो सवारी सञ्चालन भइरहेका सडक खण्डलाई एकतर्फी बनाइएको हो । काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ जगतमान श्रेष्ठका अनुसार कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक र दरबारमार्गस्थित महेन्द्र शालिकबाट कृष्णपाउरोटी चोकभन्दा तल (काठमाडौं प्लाजानेर) पुग्ने सडक एकतर्फी भएका छन् ।

यसैगरी त्रिपुरेश्वरतर्फ बाट काठमाडौं–ललितपुर जोड्ने सेतोपुल (नयाँ पुल) हुँदै गुसिङ्गाल निस्किने सडक एकतर्फी बनाइएको छ । त्रिपुरेश्वरतिरबाट प्रवेश गर्न पाइए पनि ललितपुरतर्फबाट त्रिपुरेश्वरतिर आउँदा नयाँ पुल कटेर बायाँतर्फ मोडिएर आउनुपर्ने छ । त्रिपुरेश्वरबाट ललितपुरतिर जाँदा मिलन टोल, नयाँ पुल हुँदै जानुपर्ने छ । यसैगरी जमल र दरबारमार्गबाट रत्नपार्कतिर आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडिएर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन पाइने छैन र पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब काठमाडौं प्लाजाबाट बायाँ मोडिएर महेन्द्र सालिकतर्फ जान पाइने छैन ।

सडक एकतर्फी बनाइएको जानकारी दिन ती क्षेत्रमा ट्राफिक प्रहरी र महानगरपालिकाका १०–१० जनाको टोली खटाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *