झुलाघाट नाका पूर्णरूपमा सञ्चालन, भारतबाट दसैं मनाउन घर फर्किनेलाई सहज

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुलको मर्मत सम्भार कार्य भइरहेकाले गत असोज ९ गतेदेखि आंशिकरूपमा मात्रै सञ्चालनमा थियो ।

पुल मर्मत सम्पन्न भइसकेकाले आजदेखि पूर्णरूपमा आवागमन सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । यसअघि पुल मर्मतको कामका लागि बिहान ८ः४५ बजेदेखि दिउँसो १ः१५ बजेसम्म र दिउँसो २ः१५ बजेदेखि दिउँसो ४ः१५ बजेसम्म पुलमा आवागमन बन्द गरिएको थियोे । पूर्णरूपमा नाका सञ्चालन भएसँगै अब बिहान ६ः०० देखि साँझ ७ः०० बजेसम्म आवागमन हुनेछ । झुलाघाट नाका पूर्णरूपमा सञ्चालनमा आएसँगै दसैँका लागि घर फर्कने नागरिकलाई सहज भएको छ । नाकामा आंशिकरूपमा मात्रै आवतजावत भइरहेका बेला घर फर्कने नागरिकलाई समस्या भएकामा अब झन्झट नहुने सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ ।

नाका पूर्णरूपमा सञ्चालन भएसँगै दसैँको समयमा बैतडीका शक्तिपीठमा दर्शनका लागि आउने भारतीय दर्शनार्थीलाई समेत सहज भएको छ । बैतडीका निङगलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, उदयदेवलगायतका मन्दिरमा दर्शनका लागि दसैँको समयमा भारतीय दर्शनार्थी समेत आउने गरेका छन् । झोलुङ्गे पुल जीर्ण भएपछि सीमा समन्वय बैठकमा नेपाल र भारतीय पक्षबीच पुल मर्मत सम्भार गर्ने सहमति भएको थियो । झुलाघाटमा पक्की पुल नहुँदा जीर्ण पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता छ । यहाँ लामो समयदेखि पक्की पुलको माग गरिँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *