शान्ति प्रक्रिया टुंगो लगाउन राष्ट्रसंघ महासचिवको सहयोग गर्ने सन्देश


काठमाण्डौं । चार दिने नेपाल भ्रमणका लागि नेपाल आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले आइतबार नै उच्चस्तरीय राजनीतिक भेटघाट सकेका छन्। अब मंगलबार संघीय संसदको संयुक्त सभालाई संबोधन गर्नुबाहेक गुटेरसका राजनीतिक भेटघाट लगभग सकिएका छन्। आइतबार दिउँसो साढे १ बजेदेखि चार बजेसम्म उनले मन्त्रीहरू, राजनीतिक दलका शीर्ष नेता प्रधानमन्त्री र राष्ट्रपतिसँग भेट गरे। परराष्ट्रमन्त्री एनपी साउद, रक्षामन्त्री पूर्णबहादुर खड्का, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे र राष्ट्रपति रामचन्द्र पौडेलसँग उनको शिष्टाचार भेटवार्ता थियो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भने जलवायु परिवर्तन, इजरायलमा भइरहेको हिंसा र नेपालको शान्ति प्रक्रिया टुंगो लगाउने विषयमा कुराकानी भएको थियो। छलफलका क्रममा गुटेरसले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन‍ संयुक्त राष्ट्रसंघले नेपालको सहयोग गर्ने सन्देश दिएका छन्। आफ्नो निम्तोमा नेपाल आएका गुटेरसँगको भेटपछि प्रधानमन्त्री प्रचण्ड अन्तर्राष्ट्रिय जगतमा नेपालको सम्बन्ध विस्तारका लागि सजिलो हुने बताए। ‘सौहार्दपूर्ण वातावरणमा द्विपक्षीय हितका र अहिलेका राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्वका विषयमा विश्वासका साथ हामीले छलफल गर्‍यौं,’ प्रधानमन्त्री दाहालले भने, ‘मौसम परिवर्तनसम्बन्धी विषयमा गम्भीर चर्चा र नकारात्मक परिणाम कम गर्न महासचिवले खेलेको भूमिकाको प्रशंसा पनि गरिएको छ।

उनले नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा पुगे पनि टुंगिन बाँकी रहेको विषयमा पनि कुरा भएको बताए। ‘शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदाय र महासचिवको महत्वपूर्ण भूमिका हुने कुरा पनि गरिएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘नेपालको आर्थिक विकास र समृद्धि लगायतका विषयमा पनि कुरा भएको छ। नेपालको राजनीतिक घटनाक्रम लगायत विषयबारे महासचिव जानकार रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो। ‘यो भ्रमणपछि राष्ट्रसंघ र नेपालबीच तथा अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्धलाई सहजीकरण गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छौं,’ प्रधानमन्त्री दाहालले भने। यस्तै गुटेरसले नेपाल अति कम विकासित राष्ट्रबाट माथि उठ्न र शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन आगामी केही वर्ष महत्वपूर्ण रहेको बताए। ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन आगामी केही वर्ष महत्वपूर्ण हुनेछन्। संयुक्त राष्ट्रसंघ सहयोग गर्न तयार छ,’ महासचिव गुटेरसले भने,‘तर संक्रमणकालीन न्याय पीडित, उनीहरूको परिवार र समुदायमा शान्ति कायम गर्न सहयोगी हुनुपर्छ। नेपाल र युएनबीचको सहकार्य अघि बढाउन काठमाडौ आएको गुटेरसको भनाइ थियो।

उनले युएनलाई शान्ति मिसनमा सहयोग गरेकोमा नेपाललाई धन्यवाद दिए। महासचिव गुटेरसले जलवायु परिवर्तनको असर र चुनौतीबारे आफू सजग रहेको बताउँदै नेपालका हिमाली क्षेत्रमा पुग्ने जानकारी पनि दिए। साथै उनले आफू पोखरा र लुम्बिनी पनि जाने बताए। उनले नेपाल विश्वको साथी भएको समेत बताए। ‘हामी कठिन परिस्थितिबाट गुज्रिरहेका छौं। मध्यपूर्वको तनाव नेपालबाट धेरै टाढा छ। तर पनि त्यहाँको द्वन्द्वले नेपालका जनतालाई पनि छोएको छ। इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारप्रति समवेदना छ। हराइरहेका विपिन जोशी सकुशल फर्किउन् भन्ने कामना छ,’ उनले भने। गुटेरसले गाजामा भइरहेको हिंसाको भर्त्सना गर्दै स‍र्वसाधारण मारिएको घटना स्वीकार्य नहुने बताए। नेपालको संक्रमणकालीन न्याय अगाडि नबढिरहेको सन्दर्भमा गुटेरसको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको छ। चार दिने नेपाल भ्रमणका लागि गुटेरस आइतबार विहान १ बजे काठमाडौं आइपुगेका हुन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *