नेपाली कांग्रेससंग किन मुख बटार्दै छ माओवादी ?

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न भए पश्चात् बैठकले गरेका निर्णयका सम्बन्धमा नेपाली कांग्रेस भित्र भन्दा सत्तारूढ गठबन्धन भित्रको दोश्रो ठूलो दल नेकपा माओवादीमा तरंग पैदा गरिदिएको छ । कसै–कसैले त गठबंधन भत्किन सक्ने अड्कलबाजी शुरु गर्न थालेका छन ।

नेपालका राजनीतिक पार्टीहरुमध्ये नेपाली कांग्रेस तुलनात्मक रुपमा आन्तरिक लोकतन्त्रको अलिकति राम्रो भावना भएको पार्टीको रूपमा गनिन्छ । नेकपा–एमाले र नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली र पुष्पकमल दाहाललाई विस्थापित गर्ने दोस्रो पुस्ताको नेताबारे अझै सोचेका छैनन् वा भनौं चर्चा समेत गर्न डराउनु पर्ने अवस्था छ र ओली र दाहाल सकृय राजनीतिमा रहुन्जेल त्यस्को संभावना पनि छैन । तर, कांग्रेसमा भने पार्टीका सभापति वा अन्य वरिष्ठ नेताका विरुद्धमा जाने हिम्मत साहस नेपाली कांग्रेसका युवा नेताहरूले देखाईरहेका छन । तेही भएर पनि होला भखरै सम्पन्न महासमिति बैठक बढी लोकतान्त्रिक र खुल्ला थियो । यो हुनु भनेको लोकतन्त्रको जीवन पद्धति पनि हो ।

महासमिति बैठकमा महामन्त्री गगन कुमार थापाले आगामी संसदीय निर्वाचनमा पार्टीलाई एक्लै निर्वाचन लड्ने भनी राखेको राजनीतिक प्रस्तावले निकै हलचल ल्याईदिएको थियो । महामन्त्री थापाको प्रस्ताव बैठकमा सबैभन्दा बढी बहसको विषय बनेको थियो र सबैभन्दा बढी चर्चा पनि थापाको उक्त प्रस्तावले पाएको थियो । थापाको प्रस्तावले कांग्रेसलाई लोकतान्त्रिक पद्धति प्रतिको आफ्नो दृष्टिकोणलाई पुनः जाँच्न आफ्नो लागि के उपयुक्त हुन्छ भनेर सोच्न बाध्य पारेको छ । सहभागितामूलक लोकतन्त्रमा, चुनाव भनेको विचार र विचारहरूको प्रतिस्पर्धा हो ।निर्वाचन अघिको गठबंधनले त्यस्तो प्रतिस्पर्धालाई अगाल्न नसक्ने र विचारधारा भनेको मूल बिन्दु हो जसले जनताले कुन नेता वा कुन पार्टीको नेतृत्व गर्ने भनेर कसरी मार्गदर्शन गर्ने भन्ने मात्र होइन, यो देशको भविष्यलाई पनि डोर्याउने एउटा सुत्र हो । मात्र चुनाव जित्न र सरकार बनाउनका लागि मात्रै राजनीतिक बिचार र सिद्धान्त नमिल्ने तत्त्वसंग निर्वाचन अघि गठबंधन गर्नु नेपाली कांग्रेस जस्तो निष्ठावान र लोकतान्त्रिक पार्टीका लागि सुहाउँदो हुन्दैन ।

थापाको निर्वाचन अघिको गठबंधन कसैसँग पनि नगर्ने कांग्रेस एक्लै निर्वाचन लड्न सकक्षम छ भन्ने प्रस्तावको आह्वानले इतिहासको विशिष्ट क्षणमा बनेको वर्तमान गठबन्धनलाई निरन्तरता दिनुको सान्दर्भिकतामा पनि प्रश्न उठाईदिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई अक्षुण्ण राख्न नसकेको भन्दै दुई पटक संसद विघटन गरेपछि नेपाली कांग्रेसका देउवा, नेकपाका दाहाल र नेकपाका माधवकुमार नेपालको नयाँ पार्टी नेकपा एकीकृत समाजबादी लगायत राजनीतिक दल र नेताहरुले संसद् विघटनका विरुद्ध एक भएर केपी ओलीको अप्रजातान्त्रिक कदमका विरुद्ध एक भएर प्रतिबाद गरेका थिए । र संसदीय प्रक्रियालाई बचाउन एकजुट नयाँ सरकार बनाएर केपी ओलीलाई नराम्रो झापड हानिदिएका थिए । बिशेष परिस्थितिमा त्यो बेला बनेको अहिलेको गठबन्धनले बाँकी कार्यकाल पूरा गरि निर्वाचन गराएको थियो । गठबंधन सधै नराम्रो हुन्छ भन्नू पनि घातक ठहरिन्छ । तर थापाले चुनाव अघि गठबंधन नगरी एक्लाएक्लै निर्वाचन लडौं अनि निर्वाचन पछि गठबंधन नगरी सरकार बन्दैन भने अनि मात्र गठबंधन गरौं भन्ने विषय ज्यादै सान्दर्भिक पनि छ ।

नेकपा माओवादीलाई कांग्रेसका महामन्त्री थापाको निर्वाचन अघि गठबंधन कसैसँग पनि नगर्ने कांग्रेस एक्लै निर्वाचन लड्ने भन्ने कुरा धेरै पिरोलेको छ । यही रहनामा नेकपा माओवादी अब नेकपा एमालेसँग गठबन्धन गरेर जाने तर्फ अग्रसर हुनथालेको आशंका गरिदैछ । नेपाल कांग्रेसले अहिल्यै गठबंधन भत्काउने भनेको छैन । जुन आधारमा वर्तमान गठबंधन चलिरहेको छ त्यस्मा कांग्रेस सधै प्रतिबद्ध छ तर माओवादी किन अहिल्यै गठबंधन भत्काएर एमालेसँग टासिन खोज्दै छ । सत्ता साझेदारहरू सहभागितामूलक लोकतन्त्रको भावनामा अडिग रहे भने गठबन्धन कहिल्यै तलमाथि हुन्न तर पार्टीगत स्वार्थ मात्र हेर्ने माओवादी सोचाइ गलत छ । लामो समयदेखि एकसाथ अडिग रहेको वर्तमान सत्तारूढ गठबंधन महामन्त्री थापाको प्रस्तावले गठबन्धनमा अहिल्यै असहजता आउनु निकै दुःखद नै मान्नुपर्छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नीति प्रतिवेदनमा उल्लेखित माओवादीको सशस्त्र द्वन्द्वका कारण देश पछाडि परेको हो भनेर ब्याख्यात्म अंशमा माओवादी द्वन्दका बारेमा गरिएको नकारात्मक विषयले पनि माओवादी नेपाली कांग्रेससंग तर्सेको हो भन्ने कसै कसैको निर्क्यौल छ । हदसम्म यो विषय पनि एउटा अंश हुनसक्छ माओवादी कांग्रेससंग तर्सिनुमा । तर कांग्रेस महासमिति बैठकमा प्रवेश पाएको अर्को महत्वपूर्ण विषय भनेको नेपाललाई हिन्दू राष्ट्रको रूपमा पुनर्स्थापित गर्न कांग्रेस भित्र बढ्दो संख्या पनि हो ।

काङ्ग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाललाई ‘हिन्दू राष्ट्र’ बनाउनु पर्छ भन्ने महासमिति सदस्यहरु १ हजार ६३ जनाको हस्ताक्षर भएको पत्र पार्टी सभापति शेरबहादुर देउवालाई बुझाए । उल्लेखनीय कुरा नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भण्डारीको प्रस्तावमा हस्ताक्षर गर्ने सदस्य संख्या ७१७ मात्र थियो । यसले पुरानो दिनमा फर्कन चाहने कांग्रेसीहरूको सङ्ख्यामा स्पष्ट वृद्धि भएको देखाउँछ , तर पार्टी सभापतिले कम्तिमा तत्कालका लागि यो प्रस्तावलाई पछाडि धकेलिदिएका छन । आगामी दिनहरूमा, विशेष गरी चुनाव नजिकिँदै जाँदा, हिन्दू राष्ट्रको समर्थन गर्ने जमात बढेमा देउवाले थेग्न सक्ने अवस्था रहदैन । फेरि, यो चुनावी रणनीति भन्दा पनि पार्टीको वैचारिक दृष्टिकोणको कुरो आउँछ जस्ले गर्दा नेपाली कांग्रेस पार्टी नेतृत्वले धर्मनिरपेक्षताको आफ्नो अडानमा अडिग रहनु राम्रो हुन्छ । अहिले नेकपा माओवादी धेरै तर्सेको छ । चुरो कुरा नेपाली कांग्रेस आगामी निर्वाचनमा एक्कै लड्ने कुराले भन्दा पनि नेपाललाई हिन्दू राष्ट्रको रूपमा पुनर्स्थापित गर्न कांग्रेस भित्र बढ्दो संख्या देखेर पनि हो ।

यति कारण मात्रै नेपाली कांग्रेससंग बनिबनाउं गठबंधनबाट माओवादी बिमुख होला त ? हुनत, नेकपा एमाले फेरि माओवादीसंग लगनगांठो कस्ने कसरतमा छ । किनकि एमालेको एकल लक्ष्य जसरी पनि वर्तमान गठबंधन भत्काउनु हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *