एक्स्ट्राटेक ओभल क्रिकेट मैदान उद्घाटन

बुटवल । रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको मैदान उद्घाटन भएको छ । आज लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मैदान उद्घाटन गरेका हुन् ।

गत जेठ २९ गते शिलान्यास भएको रङ्गशालाको पहिलो चरणको काम अन्तर्गत खेल मैदान ९ महिनामै तयार भएपछि आज उद्घाटन गरिएको हो । कन्सल्टेन्सी व्यवसाय समेत गरिरहेका विनोद कुँवर दम्पत्तिले रुपन्देहीमा ४० करोड लगानी गर्ने गरी अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन सुरु गरेका हुन् । रङ्गशालाका अन्य पूर्वाधारहरू पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।

कुँवरका अनुसार मैदान निर्माण गर्दा जग्गाबाहेक ७ करोड खर्च भएको छ । १८ करोडको लागतमा प्यारा फिटको काम लगत्तै सुरु हुने उनले बताए ।

क्रिकेट मैदान र क्रिकेट एकेडेमीको ब्रान्ड एम्बेसडरको जिम्मा नेपालका चर्चित पूर्व क्रिकेटर शक्ति गौचनले पाएका छन् । क्रिकेट रङ्गशालामा छात्रावाससहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुने र उक्त एकेडेमी र ट्रेनिङ सेन्टरको सम्पूर्ण जिम्मेवारी गौचनलाई नै दिएको कुँवरले बताए ।

उद्घाटनका अवसरमा प्रदेश प्रमुख अमिक शेरचनले तिलोत्तमामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न, खेलाडी उत्पादन गर्न सहज हुने बताए ।

मैदान उद्घाटनका अवसरमा लिजेन्ड्स कप टी–१० क्रिकेट प्रतियोगिता समेत आयोजना गरिएको छ । जसमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको टोली, रुपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपाल गरी ४ टोलीले सहभागिता जनाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सन् २०१४ टिमको, एलबी क्षेत्रीले सन् १९९६ टिमको, कलाम अलीले रेस्ट अफ नेपालको र हरिबहादुर थापाले रुपन्देही लेजेन्ड्स टिमको कप्तानी गरेर खेलेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *