सुनसरीमा दुवै पक्षबीच सहमति, कर्फ्यु खुकुलो हुदै

इनरुवा । सुनसरीको हरिनगर र देवानगञ्जमा आज पनि कर्फ्यू यथावत रहने भएको छ । गएराति अबेर भएको सर्वदलीय बैठक पछि हरिनगर गाउँपालिका क्षेत्र र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा अर्को सूचना जारी नभएसम्म कर्फ्यू जारी रहने जिल्ला प्राशासन कार्यालय सुनसरीले जनाएको छ ।

त्यस्तै जिल्लाका इनरुवा नगरपालिका क्षेत्र, देवानगञ्ज गाउँपालिका वडा नम्बर २, ३, ४, ५ र ६, भोक्रा नरसिंह गाउँपालिका क्षेत्र र कोशी गाउँपालिका क्षेत्रमा भने आज बिहानदेखि हटाइएको छ। साथै अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाको समग्र शान्ति सुरक्षालाई मध्यनजर गरी कर्फ्यू जारी भएका स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍याली /भेला/प्रदर्शन नगर्न/नगराउन पनि भनिएको छ ।

राति बसेको सर्वदलीय बैठकमा दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति भएको थियो । दुबै पक्षले गरेका गतिविधि फिर्ता लिने, कर्फ्यूलाई सहज बनाउँदै लैजाने र हटाउने, झडपमा घाइते भएकाहरुको निशुल्क उपचार गर्ने र आवश्यकताका आधारमा छानविन आयोग गठन गर्ने, समस्या सामधानका लागि प्रदेश सांसदहरुलाई जिम्मेवारी दिने सहमति भएको थियो ।

फेसबुकमा राखेको भिडियोका कारण सुरु भएको विवादले स्थिति अशान्त बनेपछि शुक्रवार बेलुकाबाट सुनसरीको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको थियो ।

हरिनगर गाउँपालिका–१ भुटाहामा दुई समूहबीच भएको झडपले अवस्था तनावग्रस्त बनेपछि शुक्रबार बेलुकाबाट कर्फ्यू लागेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले ८० राउन्ड हवाई फायर र ३९ सेल अश्रु ग्यास प्रहार गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *