पाँच तारा सहकारीको १६ औं बार्षिकोत्सवको अवसरमा जेष्ठ सदस्यलाई सम्मान तथा भत्ता वितरण

काठमाण्डौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सदस्य र समुदाय केन्द्रीत हुन नसकेका सहकारीमा पछिल्लो समस्या आएको भए पनि सहकारीले भने सदस्यलाई नै पहिलो प्राथमिकतामा राखेर विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । संस्थामा आवद्ध सदस्यहरुलाई उनीहरुको उमेर समुह अनुसार विभिन्न विधामा जोडेर सहकारी अगाडि बढेको छ । यसै क्रममा संस्थाले जेष्ठ सदस्यलाई सम्मान तथा भत्ता वितरण कार्यक्रम गरेको छ । संस्थाले १६ औं बार्षिकोत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गरी ७० बर्ष माथिका जेष्ठ सदस्यहरुलाई सम्मान गर्नुका साथै भत्ता वितरण गरेको हो । संस्थाले स्थापना दिवसको अवसर पारेर औपचारिक कार्यक्रमको आयोजना गरी ७५ बर्ष माथिका ५ जना सदस्यलाई खादामाला, प्रमाणपत्र, भत्ता र पोषणयुक्त खाने कुरा प्रदान गरेको छ भने ७० वर्ष माथिका ४८ जना सदस्हरुलाई २ हजारको दरले भत्ता प्रदान गरेको छ ।

संस्थाका अध्यक्ष भोलानाथ पाठकको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाले प्रदान गरेको सम्मान तथा भत्ताले जेष्ठ सदस्यहरु दङ्ग देखिए । सदस्यहरुले सहकारी भनेको पाँच तारा जस्तो हुनुपर्ने र अरु सहकारीले पनि पाँच तारा बाट सिक्नु पर्ने बताए । स्थापना दिवसको अवसरमा जेष्ठ सदस्यहरुलाई सम्झेर सम्मान गरेकोमा उनीहरुले खुशी हुँदै संस्थाको प्रशंसा गरे । सहकारीप्रति समाजमा भ्रम फैलाइएको भन्दै उनीहरुले त्यसको सामना गर्नुपर्ने र संस्थाको बारेमा अरुले नराम्रो भने पनि बुझेर मात्र प्रतिक्रिया दिनुपर्ने जनाए । पाँच तारा सबै सदस्यको संस्था भएकाले बजारमा आएको नकारात्मक हल्लाको पछाडी नलागी संस्थालाई अझ बलियो र मजबुत बनाउन लाग्नुपर्ने सदस्यहरुको भनाई थियो । संस्थाका सल्लाहकार तथा सम्मानित मध्येका एक सदस्य मदनराज घिमिरेले बजारमा सहकारीप्रति फरक धारणा विकास भएको भन्दै त्यसलाई निरुपण गर्न सबै सदस्य लाग्नु पर्ने बताए । पाँच तारा सहकारीलाई यस भेगकै नमुना संस्था बनाउन सकिने भन्दै उनले यसका लागि सदस्यहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिए । सक्रिय सदस्य भए मात्र सहकारी राम्रो हुने हुँदा सबै सदस्य सोही अनुरुप अगाडि बढ्नुपर्ने उनको भनाई छ । त्यसैगरी अर्का सम्मानित व्यक्ति तथा संस्थाका सदस्य डम्बर बहादुर तुम्बाहाम्फेले पाँच तारा सहकारीले अन्य संस्थाको तुलनामा धेरै राम्रो काम गर्दै आएको बताए । उमेरले ७५ बर्ष नाघेका तुम्बाहाम्फे पाँच ताराले एटीएम लगायत विविध सेवा ल्याएकाले आफु सदस्यको बनेको जनाए ।

आफुलाई पैसा चाँहिदा एटीएमबाट झिक्ने गरेको र घर छेउमा नै संस्था भएकाले सेवा लिन सजिलो भएको उनले बताए । संस्थाले हरेक उमेर समुहका सदस्यहरुलाई समेटेर विभिन्न कार्यक्रम गर्दै आएको र जेष्ठ सदस्यहरुलाई सम्झेर सम्मान गरेकोमा उनले खुशी प्रकट गरे । संस्थाका सञ्चालक समिति र ऋण उप समितिले पारदर्शिता कायम गर्दै संस्था सञ्चालन गर्दा समस्या नआउने उनको भनाई छ । कतिपय संस्थाहरुले जथाभावी ऋण लगानी गरेकाले असुलीमा गर्न नसक्दा पनि समस्या आएको भन्दै उनले गलत ठाउँमा ऋण लगानी नगर्न आग्रह गरे । मुलुकका लागी सहकारी आवश्यक रहेको भन्दै उनले अर्थतन्त्रलाई माथि उठाउने खम्बा नै सहकारी भएको जिकिर गरे । सहकारीमार्फत् तराईको जमिनलाई एकीकृत गरी आधुनिक प्रविधिको प्रयोग गरी खेती गर्न सके कृषिमा मुलुक आत्मनिर्भर हुन सक्ने उनको भनाई छ । सदस्यहरुले इमानदारीपूर्वक कारोबार गरे सहकारीमा समस्या नै नआउने उनको बुझाई छ ।

संस्थाकी सदस्य उर्मिला घिमिरेले सदस्यहरुको सामुहिक प्रयासबाट मात्रै संस्थालाई माथि लैजान सकिने बताईन् । संस्थालाई अगाडि बढाउन सदस्यहरु नै सक्रिय हुनुपर्ने र संस्थाका हरेक गतिविधिमा सहभागिता जनाउनु पर्ने उनको धारणा छ । संस्थाले जेष्ठ सदस्यलाई गरेको सम्मानले आफु खुशी भएको भन्दै उनले यस्ता सम्मानले संस्थाप्रति सदस्यको अपनत्व बढेर जाने बताइन् । संस्थाका अध्यक्ष भोलानाथ पाठकले ‘अग्रजको सम्मान सभ्यताको पहिचान’ भन्ने नाराका साथ २०७२ सालदेखि संस्थाले जेष्ठ सदस्यलाई सम्मान गर्दै आएको बताए । अरुहरुलाई देखाउन भन्दा पनि सदस्यहरुको सम्मानका लागि अन्तरआत्मादेखि नै संस्थाले सम्मान गर्ने गरेको उनको भनाई छ ।

यसका साथै संस्थाले सहकारी अभियानका अग्रजहरुलाई पनि सम्मानको थालनी पाँच ताराले नै सुरु गरेको उनले बताए । संस्थाले गर्दै आएको सहकारी अभियन्ता सम्मानलाई यस बर्षको लागि मात्र स्थगित गरेको र आगामी बर्षदेखि यसलाई फरक ढंगले अगाडि बढाउने पाठकको भनाइ छ । अभियन्ता सम्मानलाई अगाडि बढाउन पहिलो पाँच तारा व्यक्तित्वबाट सम्मानित भएका राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दिपकप्रकाश बास्कोटाको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको र समितिले सिफारिस गरेको व्यक्तिलाई सम्मान गर्दै जाने उनले जानकारी दिए । सदस्यहरुलाई जागरुक गराउन संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको उनले जनाए । सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा प्रदान गर्न संस्थाले मोबाईल बैकिङ्ग, एटीएम सेवा र फन्ड ट्रान्सफर लगायतका थुप्रै सुविधा सञ्चालनमा ल्याएको उनले बताए । संस्थाले विभिन्न समिति तथा उप समिति बनाएर अगाडि बढेको र क्रमशः नेतृत्व हस्तान्तरण गर्दै जाने पाठकले जनाए ।

संस्थालाई आजको दिनसम्म राम्रो बनाउन लागिपरेको र भोलिका लागि योजना बनाएर अगाडी बढ्ने उनले उल्लेख गरे । संस्थाको समग्र कारोबारलाई बढोत्तरी गर्न सदस्यहरुको साथ र सहयोग आवश्यक पर्ने भन्दै उनले सबैलाई क्रियाशील हुन आग्रह गरे । २०६४ सालमा यस भेगमा कुनै पनि बैंक तथा वित्तीय संस्थाको शाखा नभएको र वित्तीय कारोबार गर्न कोटेश्वर नै जानुपर्ने अवस्था रहेकाले त्यसको अन्त्य गर्न सहकारी सुरु गरेको उनले जनाए । संस्थाका सञ्चालक सुशील प्रसाईंले सञ्चालन गरेको कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष विजय मल्लले स्वागत मन्तब्य र सचिव लोचनहरि प्रसाईंले धन्यवाद ज्ञापन गरेका थिए । संस्थाले सो अवसरमा १० पटक सम्म रक्तदान गर्ने स्वयंसेवी रक्तदातालाई विशेष सम्मान र ५ पटक सम्म रक्तदान गर्ने रक्तदातालाई चाँदीको सिक्का प्रदान गरेको थियो । संस्थाले हरेक वर्ष प्रकाशन गर्दै आएको भित्तेपात्रो र स्मारिकाको समेत सोही अवसरमा लोकार्पण गरेको छ । संस्थाले स्थापना दिवसका अवसर पारेर चैत्र २० गतेदेखि साताव्यापी रुपमा रक्तदान, वृद्धवृद्धालाई भोजनदान, फुटसल प्रतियोगिता, सहकारी अन्तरक्रिया, कविता गोष्ठी जस्ता रचनात्मक कार्यक्रम गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *