१५९ ओटा बिरालो पालेका दम्पतीलाई एक वर्षे जेल

फ्रान्समा एक दम्पतीलाई निलम्बन नहुने गरी एक वर्षे जेल सजाय दिइएको छ । घर पालुवा जनावरहरूलाई क्रूर अवस्थामा पालेर राखेको भन्दै सो सजाय सुनाइएको हो । निस सहर स्थित आफ्नो ८० वर्गामिटरको अपार्टमेन्टमा ती दम्पतीले १५९ ओटा बिरालो र सात ओटा कुकुर पालेका थिए । गएको वर्ष उक्त अपार्टमेन्टमा जनावरहरू दयनीय अवस्थामा भेटिए । कयौँलाई जलवियोजन भएको थियो, कयौँ कुपोषणको सिकार भएका थिए भने शरीरभरि किर्ना र किरा थिए । दम्पतीले घरपालुवा जनावरको उचित स्याहार गर्न नसकेको न्यायाधीशले बताएका छन् । दम्पतीमा ६८ वर्षकी महिला र ५२ वर्षका पुरुष थिए । उनीहरुले आजीवन घरपालुवा जनावर राख्न बन्देज गरिएको छ । साथै पशु अधिकारकर्मी च्यारिटी र नागरिक संस्थालाई १ लाख ५० हजार युरो जरिवाना तिर्न आदेश पनि दिइएको छ ।

गएको वर्ष ती दम्पतीबिच चलेको विवादमा हस्तक्षेप गर्न प्रहरी अपार्टमेन्टमा छिरेका थिए । यस क्रममा हरेक कोठामा दर्जनौँ बिरालो र कुकुर भेटिए । घरभरि जहाँत्यहीँ जनावरको मल मात्रै थिए । केही बिरालो र कुकुर मृत भेटिएका थिए । बाथरुममा २ ओटा कुकुर र २ ओटा बिरालोको शव थियो । सन् २०१८ मा महिलाले आफ्ना मातापिताको घरमा रहेको तीन ओटा बिरालो र तीन ओटा कुकुर ल्याएकी थिइन् । त्यसपछि एउटा निर्जन घरमा बसिरहेका ३० ओटा बिरालो पनि अपार्टमेन्टमै ल्याइन् । बिरालो र कुकुरले बच्चा जन्माउँदै गएपछि सङ्ख्या बढेर थेगिनसक्नु भएको बताइएको छ । यो दम्पती सन् २०१४ मा १८ वर्गमिरटको अपार्टमेन्टमा १३ ओटा बिरालो र एउटा कुकुरको साथमा बसेको भन्दै छानबिनमा पनि परेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *