माथिल्लो अरुणमा विश्व बैंकले लगानी गर्ने

काठमाडौं । संखुवासभामा निर्माण हुन लागेको माथिल्लो अरुण अर्धजलासययुक्त जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति भएको छ । माथिल्लो अरुण जलविद्युत १ हजार ६३ मेगावाटको हुने छ ।

अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंक उच्च नेतृत्वबीच वासिन्टन डिसीमा सैद्धान्तिक सहमति भएको हो । मन्त्री पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच माथिल्लो अरुणसहित विश्व बैंकको लगानीमा नेपालमा सञ्चालित आयोजनाबारे छलफल भएको थियो । माथिल्लो अरुणमा विश्व बैंकले वित्तीय व्यवस्थापनको नेतृत्व गर्ने विषयमा सैद्धान्तिक निस्कर्षमा पुगिएको अर्थ मन्त्रालयको अन्तर्राष्टिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालले जनाए । उनी मन्त्री पुनको भ्रमण टोलीका सदस्य समेत हुन् ।

नेपाल सरकारले सैद्धान्तिक स्वीकृति दिएपछि सहमतिले औपचारिकता पाउनुका साथै वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता हुनेछ । गेमचेन्जर आयोजना माथिल्लो अरुणको वित्तीय व्यवस्थापनको नेतृत्व विश्व बैंकले गर्नेछ । विश्व बैंकको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहुलियतपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट गरी ७० प्रतिशत ऋण लगानी जुटाउनुका साथै ३० प्रतिशत स्वपुँजी ९इक्विटी०बाट वित्तीय व्यवस्थापन गर्ने तयारी छ । माथिल्लो अरुणको पूर्वतयारीस्वरुप २ किलोमिटर सुरुङ मार्ग र २१ किलोमिटर पहुँच मार्ग निर्माणको काम अघि बढेको छ । जग्गा प्राप्ति र मुआब्जा वितरण करिब सकिएको छ ।

विद्युतको उच्च माग हुने हिउँदको ६ महिना दैनिक ६ घण्टा पूर्ण क्षमतामा सञ्चालन गरिने माथिल्लो अरुण नेपालकै गेमचेन्जर आयोजना हो । सो आयोजनाबाट वार्षिक चार अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुनेछ । उत्पादित विद्युत ६ किलोमिटर ४ सय केभीको प्रसारण लाइनमार्फत् संखुवासभाको हाइटारमा नयाँ बन्ने सबस्टेसनमार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । भुँवाघाटमा निर्माण हुने ६ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा सामावेश गरेको छ ।

बैठकमा विश्व बैंकको लगानीमा सञ्चालित अरु विकास आयोजनाको कामलाई समेत तीव्रता दिने विषयमा छलफल भएको थियो । नेपालले परम्परागत रुपमा उपयोग गर्दै आएको विश्व बैंकको सहुलित दरमा ऋण दिने संस्था इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसन (आईडीए) सुविधा बढाउने र आयोजनाहरुमा विविधिकरण गर्नेबारे समेत कुराकानी भएको छ । त्यस क्रममा मन्त्री पुनले नेपालको विकास पूर्वधार निर्माणमा आन्तरिक श्रोतको सीमितता रहेकाले वैदेशिक लगानीको जरुरी रहेको बताए । उनले मलेरिया निवारुणको समयदेखि नै विश्व बैंकले नेपालका लागि गर्दै आएको अनुदान र सहुलीयतपूर्ण ऋण सहायताका लागि धन्यवाद दिँदै आगामी दिनमा थप लगानी बढाउन आग्रह गरे ।

रेजरले आगामी जुनमा काठमाडौंमा हुने आइडीए–२१ बैठकको राम्रो तयारी गरेको भन्दै नेपालको प्रशंसा गरे । नेपालले आफूलाई ग्रिड अवधारणामा अघि बढाएकामा पनि उनले खुसी प्रकट गरे । उनल आईडीए–२१ बैठकमार्फत काठमाडौँबाट संसारलाई ठूलो सन्देश दिन सकिने विश्वास पैदा भएको बताए ।

आईडीएमा सदस्य राष्टका ९० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुँदैछन् । यस्तै मन्त्री पुनले आगामी १६ र १७ वैशाखमा हुने तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा उच्चस्तरको प्रतिनिधित्व गर्न लागेकामा विश्व बैंक समूहलाई धन्यवाद दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *