मुलुक जोगाउन ठूला राजनीतिक दलहरुबिच सहकार्य आवश्यक छ: रमेश लेखक

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबिच सहकार्य आवश्यक रहेको बताएका छन् । मुलुक जोगाउन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सहमति, सहकार्य र संवाद आवश्यक रहने बताएका हुन् ।

कञ्चनपुर शाखा नेपाल प्रेस युनियनले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक लेखकले अहिलेको सरकार समीकरणमा नेकपा (एमाले) भित्र पनि असन्तुष्टि रहेको उल्लेख गर्दै सत्ता समीकरणबारे आफैँमा विरोधाभास र आशङ्का रहेको धारणा राखे । “नेपाली कांग्रेस र एमालेभित्र ठूला दल मिलेर सरकार बनाउनुपर्छ भन्ने मत बलियो छ”, उनले भने, “जनता पनि ठूला दल मिलेर मुलुकलाई सही दिशामा लैजानुपर्छ भन्नेमा छन् ।” कांग्रेस र एमालेबीचको सत्ता सहकार्य गर्ने विषयमा ठोस कुरो नभएको प्रमुख सचेतक लेखकको भनाइ थियो ।

सरकार सञ्चालनका लागि नभए पनि मुलुकलाई अस्थिरतातर्फ जान नदिन, संविधानको रक्षा गर्न र लोकतन्त्रको सुदृढीकरणका लागि पनि ठूला दलहरुबीच सहकार्य र छलफल आवश्यक हुने लेखकको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै सहकारी छानबिनको विषयमा समग्रमा छानबिनको विषयमा सकारात्मक धारणा आएको बताउँदै उनले त्यसका लागि कांग्रेस पनि सकरात्मक रहेको बताए । उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन हुनुपर्नेमा कांग्रेसको अडान यथावत रहेको बताए ।

“सहकारीको रकम अवचलन भएकोलगायतको विषय छानबिन गर्ने निकायको जिम्मेवारीमा रहेका पनि आरोपित छन्”, उनले भने, “हामीले राजीनामा होइन, छानबिनको माग गरेका हौँ ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *