विकास र परिवर्तनको लागि जनताको अभिमत परिवर्तन हुनुपर्छ : कुन्तीदेवी पोखरेल

काठमाडौँ । समाजसेवा र व्यवसायबाट राजनीतिमा हात हालेकी कुन्तीदेवी पोखरेलले आसन्न मंसिर ४ मा हुन गइरहेको आमनिर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएकी छन् । काठमाडौंकी स्थायीवासी पोखरेलले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य समेत रहेकी पोखरेल वरिष्ठ समाजसेवी, सफल व्यवसायी र कुशल नेतृको रुपमा परिचित छिन् । उनी सम्पन्न राप्रपाको महाधिवेशनबाट सर्वाधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी भएकी थिइन् । उनले भ्रष्टाचार, अनियमितता, हत्या, हिंसा, बलात्कार, मानव बेचविखन, अन्याय, अत्याचार, कुरीति, कुस्कार र देशद्रोहीविरुद्ध आफ्नो उम्मेदवारी भएको बताएकी छन् । उनै युवा नेतृ पोखरेलसँग आमनिर्वाचनमा केन्द्रित रहेर सत्याग्रह साप्ताहिक र काठमाडौं न्युज डटकमका लागि सम्पादक कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :
कुन्तीदेवी पोखरेल, वरिष्ठ समाजसेवी, सफल व्यवसायी तथा युवा नेतृ राष्ट्रिय प्रजातन्त्र पार्टी

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यमा तपाईंको उम्मेदवारी केका लागि ?

पछिल्लो समय नेपाल भ्रष्टाचार, अनियमितता, हत्या, हिंसा, बलात्कार, मानव बेचविखन, अन्याय, अत्याचार, कुरीति, कुस्कार जस्ता देशद्रोही घटनाक्रमले आक्रान्त छ । त्यसको विरुद्ध लड्नलाई सामाजिक संघ संस्थाबाट आवाज उठाएर मात्रै नसकिने रहेछ । देशको नीति निर्माण तहमा पुगेर कानुनी व्यवस्था नै गर्नुपर्ने रहेछ । देशमा व्याप्त विकृति,विसंगतिविरुद्ध बाहिरबाट मैले धेरै आवाज उठाएँ । तर, राज्यपक्षबाट पटक्कै सुनुवाइ भएन । यसको विरुद्ध समाजसेवाको माध्यमबाट उपत्यका बाहेक दूरदराजका धेरै जिल्लामा पुगेर महिला, हिंसा, हत्या र बलात्कारका विरुद्ध लडेँ । तर, आफू देशको नीतिनिर्माणको तहमा नहुँदा ती विषय ओझेलमा पर्दा रहेछन् । त्यसो भएर पनि म काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी हुँ । यहाँका नागरिकले यसपालि मलाई भोट दिएर विजय गराउनुहुन्छ भन्नेमा ढुक्क छु ।

काठमाडौं क्षेत्र नम्बर २ का जनताले तपाईंलाई नै भोट दिनुपर्ने कारण के ?

पहिलो यहाँका जनताले मलाई नै भोट दिनुपर्ने कारण म स्थानीय उम्मेदवार हुँ । जब २०४६ सालमा नेपालमा प्रजातन्त्र पुनस्र्थापना भयो । त्यस यता नेपालमा जतिपनि निर्वाचनमा भयो । काठमाडौं २ बाट प्राय बाहिरबाट आयातित टुरिष्ट उम्मेदवार बने । उनीहरु बाहिरबाट फुत्त आए, विभिन्न पार्टीको प्रतिनिधि भएर चुनाव लडे, जिते आफ्नो दुनो सोझ्याए गए । यहाँबाट नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले चुनाव जित्नुभयो । उहाँ देशको प्रधानमन्त्री पनि बन्नुभयो । तर, यस क्षेत्रको विकास निर्माण र जनताको आवश्यकता के छ भनेर बुझ्न पुगेको पाइँन । त्यसपछि उहाँलाई जनताले पत्याएनन् हार्नुभयो । अहिले यहाँका जनताले नपत्याएपछि रौतहटतिर लाग्नुभयो । त्यसैगरी यसै क्षेत्रबाट माओवादी नेता झक्कुप्रसाद सुवेदीले जनतालाई विभिन्न झुठा आश्वासन बाँडेर चुनाव जित्नु भयो । त्यसपछि आफ्नो निर्वाचन क्षेत्रको भूगोल, जनताको आवश्यकता, स्थानीय महत्व बुझ्न एकपटक पनि जानुभएन । अहिले कुन पार्टीमा हुनुहुन्छ हिजो उहाँलाई भोट हाल्ने जनतालाई थाहा छैन । त्यसैले भूगोल बुझेको, स्थानीय ज्ञान नभएको, यहाँको मौलिक संस्कार, संस्कृति, रितिरिवाज, परम्परा, धर्म, संस्कार, संस्कृति, मौलिक भाषा, भेषभुषा, ऐतिहासिक र पुरातात्विक महत्व बुझेको स्थानीय युवा नेतृत्वको आवश्यक भएको यहाँका जनताले महसुस गरेका छन् । त्यसको लागि काठमाडौं क्षेत्र नम्बर २ बाट मेरो उम्मेदवारी रहेको हो ।

तपाईंले चाहीं यी आवश्यकता परिपूर्ति गर्नुहुन्छ भन्ने ग्यारेन्टी के ?

म त यहाँ जन्मी, हुर्की, बढी, अध्ययन गरेकी स्थानीय व्यक्ति हुँ । म यो भूगोलको छोरी हुँ । मैले समाजसेवामार्पmत यस क्षेत्रमा धेरै काम गरेकी छु । हरेक, वडा, टोल, घर–घरमा सामाजिक अभियान्ता भएर काम गरेकी छु । मलाई यस क्षेत्रमा बसोबास गर्ने दलित, जनजाति, महिला, जेष्ठनागरिक, अल्पसंख्यक, उत्पीडित, अपाङ्गता भएका व्यक्ति, भूमिहीन, किसान, उद्योगी, व्यापारी, समाजसेवी, बुद्धिजीवी, विद्यार्थी, कर्मचारी, मजदूरलगायत सम्पूर्ण तह, तप्पाका, वर्ग, समुदायका आवश्यकता थाहा छ । त्यसकारण पनि उहाँहरुको इच्छा, आवश्यकता र चाहनाअनुसार काम गर्न सक्छु भन्ने प्रतिवद्धता जनाउन चाहन्छु । त्यसको लागि यहाँका जनताले यसपटक आफ्नो मत परिवर्तन गर्नुपर्छ । विकास र परिवर्तनको लागि मत परिवर्तन गर्नुहुन्छ भन्ने विश्वस्त छु । यसपटक काठमाडौं २ का जनताले मलाई मत दिएर जिताउँछन् भन्नेमा ढुक्क छु ।

गठबन्धन दलका उम्मेदवारसँग प्रतिस्पर्धा छ , तपाईंले कसरी ढुक्कले चुनाव जित्नुहुन्छ त ?

उहाँहरुले राजनीतिक पार्टीका शीर्ष नेताहरु बसेर गठबन्धन गर्नुभएको छ । मैले स्थानीय जनता र भोटरसँग गठबन्धन गरेकी छु । म त यस क्षेत्रका जनताको साझा उम्मेदवार हो । मलाई सबै पार्टीका भोटरले मत दिन्छन् । चुनावमा राजनीतिक पार्टीसँग भन्दा जनतासँग गरेको गठबन्धन बलियो हुन्छ । किन भने भोट हाल्ने जनताले हो । जनताले चुनावका बेला गठबन्धनभन्दा पनि उम्मेदवार हेर्छन् । लोकतन्त्रमा जनताको अभिमत ठूलो हुन्छ । मलाई यहाँका स्थानीय जनता, समाजसेवी, बुद्धिजीवी, सर्वसाधारण सबैको साथ, सहयोग र समर्थन छ । त्यसैले म एउटा पार्टी विशेषको भन्दा पनि आफूलाई सबै दल, तहतप्का, वर्ग, समुदायका नागरिकको साझा उम्मेदवार भन्न रुचाउँछ ।

तपाईंलाई लोकतन्त्र विरोधी पार्टीको उम्मेदवार भन्ने आरोप छ नि ?

म महामानव वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको सिद्धान्तलाई सम्मान गर्ने मान्छे हुँ । उहाँले त्यतिबेला उठाएको राष्ट्रिय मेलमिलापको नीति अहिले यो मुलुकको खड्किएको छ । वीपी कोइरालाको मूल्य, मान्यता, आदर्श र सिद्धान्त मलाई अत्यन्तै मन पर्छ । उहाँ बहुआयामिक र दूरदर्शी नेता हो । अहिले मुलुकमा भौगोलिक अखण्डता, राष्ट्रिय एकता, अभिव्यक्ति स्वतन्त्रता र समृद्धिका लागि राष्ट्रिय मेलमिलापको सबै दलमा राष्ट्रिय मेलमिलाप आवश्यकता छ । अनि म कसरी लोकतन्त्र विरोधी हुन सक्छु ? म त हरेकमा बृहत लोकतान्त्रिक एकता हुनुपर्छ भन्ने मान्छे हुँ । बरु अहिले जसले लोकतन्त्रका कुरा गरिरहनुभएको छ । उहाँहरुले चाहीं बरु वीपी कोइरालाको आदर्श, मूल्य, मान्यता र सिद्धान्त बिर्सिए जस्तो लाग्छ । म त मुलुकमा राजासहितको वास्तविक लोकतन्त्र हुनुपर्छ भन्ने मान्छे हुँ । बहुसंख्यक नेपालीले मान्दै आएको हिन्दू सनातन धर्म स्थापित हुनुपर्छ भन्न रुचाउँछु । राष्ट्रिय प्रजातन्त्र पार्टी २०४६ सालदेखि स्थापित भएको हो । जसले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई आत्मसात गरेको थियो । फेरि २०६२/६३ को परिवर्तनपछि लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलार्ई मान्दै आएको छ । अनि कसरी राप्रपा लोकतन्त्र विरोधी हुन्छ ? त्यो त विरोधीहरुले लगाउने आरोप मात्रै हो । चुनावका बेला यस्ता आरोप प्रत्यारोप आउँछन् । फेरि त्यसमा लोकतान्त्रिक व्यवस्था नै ठिक छैन भनिएको होइन । लोकतान्त्रिक संविधानभित्र भएका कमी कमजोरीलाई सच्याउनुपर्छ भनिएको छ । संघीयताको विरोध पनि गरिएको छैन । स्थानीय तहलाई अझ अधिकार सम्मन्न, जिम्मेवार र बलियो बनाउने । तर, प्रदेशको चाहीं खासै काम नदेखिएको र सानो मुलुक भएकाले खर्चले धान्न गाह्रो भएको त्यसको खारेजी हुनुपर्छ भन्ने माग हो ।

काठमाडौं २ मा विकासका दृष्टिले खड्किएको कहाँ–कहाँ पाउनुभएको छ ?

सिंहदरबारको नजिक भएर पनि विकास निर्माणका दृष्टिले काठमाडौं २ का अधिकांश ठाउँहरु ओझेलमा परेका छन् । जस्तो कोटेश्वरदेखि पेप्सी, काँडाघारी, मुलपानी, साँखुहुँदै जर्सिङपौवा जोडिने सडक नाममा मात्रको छ । त्यसलाई स्तरोन्नति र व्यवस्थपित गर्नुपर्ने देखिन्छ छ । त्यसैगरी डाँछी, भद्रवास, आलापोट, गाँगलफेदी, नाङ्लेभारे लगायतका सडकको पनि त्यस्तै दूरदशा छ । त्यसैगरी शिक्षा, स्वास्थ्य, खानेपानी, ढल व्यवस्थापनमा धेरै समस्या छ । लप्सीफेदी, गाँगलफेदी, जर्सिङपौवालगायत ठाउँहरु प्राकृतिक सौन्दर्य, ऐतिहासिक र पूरा तात्विक दृष्टिले भूरिपूर्ण छन् । तर, ती महत्व बोकेका ठाउँहरु उचित विकास निर्माण र व्यवस्थापन नहुँदा ओझेलमा परेका छन् । त्यहाँ बाटो, बिजुली, सरसफाइ, शान्तिसुरक्षा, अमनचयनको उचित व्यवस्थापन गर्ने हो भने पर्यटकीय दृष्टिले अत्यन्तै सुन्दर मानिन्छ । त्यो ठाउँको राम्रो विकास निर्माण र व्यवस्थापन हुने हो भने नेपालको स्वीट्जरल्यान्ड बनाउन सकिन्छ । अब म प्रतिनिधिसभा सदस्यमा काठमाडौं २ बाट निर्वाचित भएपछि ६ महिनाभित्र त्यो काम गरेर देखाउँछु । मत परिवर्तन गर्दा विकास हुन्छ । जस्तो उदाहरणको लागि काठमाडौंका मेयर बालेन शाहलाई लिन सकिन्छ । काठमाडौं महानगरका जनताले मत परिवर्तन गरे नवनिर्वाचन मेयरले सुरुका दिनदेखि परिवर्तनका काम गरेका छन् । अब प्रतिनिधिसभामा पनि त्यस्ता व्यक्तिको खाँचो छ । त्यसको जिम्मा म लिन्छु । मलाई जनताले मत दिएर त्यो अधिकार दिनुप¥यो । मैले चुनाव जितेको भोलिपल्टबाट मेरो बलबुताले भ्याएसम्म काम गरेर देखाउँछु ।

तपाईं युवा नेतृत्व देशका युवाहरु रोजगारीका र अध्ययनका लागि नेपालमा सम्भावना नदेखेर विदेसिने क्रम जारी छ , उनीहरुलाई देशमै रोजगारयुक्त बनाउन कस्तो योजना ल्याउनुभएको छ ?

यसरी युवा वर्ग विदेसिनुको प्रमुख कारण भनेको राजनीतिप्रतिको वितृष्णा हो । किन भने पछिल्लो देशको नीतिनिर्माण तहमा पुगेका नेताहरु भ्रष्टाचार र अनियमिततामा लिप्त भए । जसको कारण मुलुक अन्याय, अत्याचार, हत्या, हिंसा, बलात्कार, कुसुशासन र अराजकताको सिकार बन्दै गयो । त्यसकारण युवा जनशक्तिले आफ्नो योग्यता, क्षमता र इच्छाअनुसारको अध्ययन र रोजगारी पाएनन् । आफ्नो बलबुताले नेपालमै केही गर्छु भन्नेलाई पनि यहाँको नीतिनियमले अलमल्याएर गर्न दिएन । शिक्षालयहरु राजनीतिक पार्टीका अखडा बन्दै गए । विद्यार्थीहरुलाई सीपमुलक, व्यवसाययुक्त र प्राविधिक ज्ञान भएन । त्यसकारण उनीहरु सम्भावनाको खोजीमा विदेसिन वाध्य छन् । सरकारमा बस्ने व्यक्तिहरु ती युवाशक्तिलाई विदेश पठाएर रेमिट्यान्स खान व्यस्त छ । त्यसकारण युवाशक्तिलाई स्वदेशमै रोकेर स्वरोजगारमुलक र व्यवसायिक बनाउन सीपमुयुक्त प्राविधिक शिक्षाको व्यवस्था गर्नुपर्छ । व्यवसाय गर्ने युवालाई लगानीको ५० प्रतिशत राज्यले अनुदान दिनुपर्छ । स्वदेशी उत्पादनलाई विशेष प्राथमिकतामा राखेर करको दायरा खुकुलो बनाउनुपर्छ । बजार व्यवस्थापनमा बिचौलियाहरुलाई निरुत्साहित गर्नुपर्छ । विद्यालयहरुलाई राजनीतिकमुक्त क्षेत्र बनाउनुपर्छ । युवा उद्यमी व्यवसायीलाई प्रोत्साहन गर्नुपर्छ । त्यसो भयो भने बेरोजगारी समस्या हल हुन्छ र युवा पलायन निर्मुल हुन्छ । अनि देश समृद्ध र सुखी बन्छ । त्यसको लागि म नीतिनिर्माणको तहमा पुगेर पहल गर्छु ।

यस क्षेत्रका महिलाहरुको लागि तपाईं पनि महिला उम्मेदवार भएको हैसियतले कस्तो एजेन्डा तय गर्नुभएको छ ?

यस क्षेत्रमा बसोबास गर्ने सबै तहतप्का र वर्ग समुदायका महिलाहरुको लागि उहाँहरुको योग्यता, क्षमता र इच्छा अनुसारको सीपमुलक तालिम दिई आत्मनिर्भर बनाउने छु । त्यो काम मैले यसअघि पनि ‘तारामण्ड सशक्तिकरण अभियान’ नामक गैरसरकारी संस्थामार्पmत गर्दै आएकी छु । त्यो अभियानलाई नीतिनिर्माणको तहमा पुगेपछि औपचारिक कार्यक्रम बनाएर उहाँहरु समक्ष लाने छु । त्यसैगरी उहाँहरुलाई आफ्नो हक अधिकारको लागि आवाज बुलन्द गर्न अभिमुखीकरण तालिमको व्यवस्था गर्ने छु । बेरोजगार महिलाहरुको लागि विभिन्न व्यवसायीमा उत्प्रेरित गर्नेछु । त्यसैरी दलित, उत्पीडित, पीछाडा वर्ग, अल्पसंख्यक, ओझेलमा परेका र आवाजबिहीनहरुको आवाज मुखरित गर्न सशक्त पहल गर्ने छु । त्यसैगरी व्यापार, व्यवसायमा संलग्न महिलाहरुका लागि राज्यको तर्पmबाट गर्नुपर्ने व्यवसायिक सुरक्षा, बजार व्यवस्थापन र उत्पादन तथा बजार व्यवस्थाको पक्षमा लागिपर्ने छु । जसको कारण महिलाहरुमा आत्मनिर्भरता बृद्धिहुनुका साथै बेरोजगारी समस्या हल हुन्छ । त्यसको लागि राज्यको पहुँचमा मलाई पुर्‍यायने जिम्मा उहाँहरुको हो ।

काठमाडौं २ अन्तर्गत पर्ने शहरी क्षेत्रमा कस्तो समस्या देख्नुभएको छ ?

शहरी क्षेत्रमा ट्राफिक जामको सबैभन्दा ठूलो समस्या देखेको छु । जस्तो कोटेश्वरबाट जडीबुटीहुँदै भक्तपुरतिर जाने र पेप्सीकोलातिर जाने सडक खण्डको ट्राफिक जामले जनता आजित छन् । त्यसलाई व्यवस्थापन गर्नुपर्ने छ । त्यसैगरी भित्री सडकहरमा सडकबत्ती, सीसी क्यामेराको आवश्यकता छ । खानेपानी, सरसफाइ, ढल व्यवस्थापनको ठूलो समस्या छ । त्यसको लागि तत्काल पहल कदमी गर्नुपर्ने देखिन्छ । भित्री सडकहरु खाल्टाखुल्टी, धूलो, धुवा, हिलोले स्थानीयहरु सधैं मारमा परेका छन् । त्यसकालाई कालोपत्रे र पुनर्संरचना गर्न आवश्यक छ । त्यसको लागि पनि सशक्त प्रयास गर्नेछु । सडक जामलाई कम गर्न ठाउँ र आवश्यकता हेरी आकाशेपुलको व्यवस्था गर्न पहल गर्नेछु । काठमाडौंमा खानेपानी, ढलनिकास र सरफाइको समस्याले जहिले पनि राष्ट्रिय राजनीतिमा हलचल ल्याउने गरेको छ । त्यो समस्या समाधानको लागि स्थानीय तहसँग समन्वय गरी केन्द्रीय स्तरसम्म पहुँच पुर्‍यायने छु ।

यहाँका ऐतिहासिक र पुरातात्विक महत्वका ठाउँलाई व्यवस्थित गर्न तपाईंसँग के एजेन्डा छन् ?

काठमाडौंमा नेवार समुदायको ठूलो योगदान र महत्व छ । उहाँहरुको कला, भाषा,साहित्य, भेषभुषा, संस्कार, संस्कृति, रितिरिवाज, परम्परा नेपालको पहिचान हो । त्यसैले यसको संरक्षण, सम्वद्र्धन र विकासको लागि देशको नीतिनिर्माण तहमा पु¥याउन विशेष पहल गर्नेछु । त्यसैगरी यहाँ निर्मित ऐतिहासिक कलायुक्त मठमन्दिर, गुठीलगायतको क्षेत्रमा विकास र समृद्धिका लागि पनि लागिपर्ने छु । अहिले धेरै त्यस्ता परापूर्वकालदेखि बनेका महत्वपूर्ण मठमन्दिरहरु लथालिङ्ग छन् । कतिपय भूकम्पका बेला भत्किएर अस्तित्व नै लोप हुने अवस्थामा पुगेका छन् । तिनको संरक्षण र सम्वद्र्धनका लागि पहल गर्नेछु । किन भने यस्ता पुरातात्विक र ऐतिहासिक तीर्थस्थल हाम्रो देशको टुरिजम क्षेत्रमा ठूलो योगदान गरेको छ । यहाँ जति पनि विदेशीहरु आउछन् उनीहरु नेपालको कला, संस्कार, संस्कृतिमा विशेष खान राख्ने गर्दछन् । नेपाल कला, साहित्य, धर्म, संस्कार, संकृतिले भरिपूर्ण देश हो । अझ काठमाडौंलगायत उपत्यकालाई मन्दिरैमन्दिरको शहर भनेर चिनिन्छ । यति ठूलो महत्व बोकेको क्षेत्रमा राज्य व्यवस्था गर्दा पुरै ओझेलमा परेको छ । अब म राज्यको नीतिनिर्माणको तहमा पुगेपछि त्यसको विकास, निर्माण र पुनर्संरचनामा लागि विशेष पहल गर्ने प्रतिवद्धता जाहेर गर्न चाहन्छु ।

ढुक्क छु भन्नुभयो, तपाईंले यहाँबाट चुनाव जित्ने आधार के ?

म यहाँको स्थानीयवासी हुँ । मैले समाजसेवामार्पmत जेजति काम गरेकी त्यो यसै क्षेत्रका विकास र समृद्धिको लागि गरेकी छु । फेरि म पार्टीविशेष भन्दा युवाहरुमाझ साझा उम्मेदवार हुँ । यहाँका नागरिकको घर–घर, टोलटोल, वस्तीबस्ती पुगेर काम गरेकी छु । शिक्षक, विद्यार्थी, उद्योगी, व्यवसायी, बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी, न्यायकर्मी, कर्मचारी, मजदूरलगायत सबै मेरो योगदानमा परिचित छन् । त्यसकारण म काठमाडौं २ को सक्षम उम्मेदवार हुँ । मलाई सबै क्षेत्र, वर्ग, समुदायका नागरिकले भोट दिन्छन् । त्यसमा स्वतन्त्र, समाजसेवी, राजनीतिक कार्यकर्ता सबैको साथ, सहयोग र समर्थन जुटेको छ । त्यसैले मेरो जित सुनिश्चित छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *