माओवादी कमजोर हुनु भनेको अहिलेसम्मको प्राप्त उपलब्धि गुम्नु हो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर हुँदा अहिलेसम्म प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताएका छन् । बुधबार प्रेस सेन्टर नेपाल, ललितपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो भनेका हुन् । उनले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अरूबेला हुनेजस्तो सामान्य चुनाव होइन र यसलाई सामान्य हिसाबमा लिन नहुने उनले बताएका छन् ।

अध्यक्ष प्रचण्डले भने, ‘मंसिर ४ को चुनाव अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालगायत रक्षा गर्न खोज्ने र उपलब्धि तथा परिवर्तन उल्टाउन खोज्ने बीचको लडाइँका रुपमा लिनुपर्छ ।’

उनले अग्रगमन र प्रतिगमनबीचको लडाइँ मंसिर ४ को चुनाव भएको पनि बताए । उनले भने, ‘परिवर्तन रक्षा गर्न चाहने र उल्टाउन चाहनेबीच आमनेसामने हुने दिन मंसिर ४ हो, चुनाव हो । यो चुनावलाई कसले जित्छन्, कसले हार्छन् भनेर छुट पाउने अवस्था छैन । आफ्नो ठाउँबाट अधिकतम जनमत निर्माण गर्नुपर्छ ।’

केही शक्तिहरू माओवादी एजेन्डा, आन्दोलन र नेतृत्वबारे घेराबन्दीमा लागेको बताउँदै उनले भने, ‘हामी माओवादी बलियो हुँदा परिवर्तन रक्षा हुन्छ । कमजोर भए सबै चिज उल्टने खतरा छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *