मनकामना केबलकारले ४६ करोड लगानीमा सुविधा सम्पन्न होटल खोल्दै


काठमाडौं । मनकामना दर्शन प्रालिले मनकामना मन्दिरमै सुविधा सम्पन्न होटल खोल्ने भएको छ । मनकामना केबलकार सञ्चालन गरिरहेको कम्पनीले अब होटल खोल्ने तयारी गरेको हो । कम्पनीले ४६ करोड लगानीमा सुविधासम्पन्न ४० बेड क्षमताको होटल खाल्ने तयारी गरिरहेको कम्पनीका निर्देशक राजेशबाबु श्रेष्ठले बताए । ‘मनकामना मन्दिरहरु सुविधासम्पन्न होटलहरु नभएकै कारण भीआईपीहरु बसेनन् भन्ने गुनासो आएपछि हामी आफैले ४० बेड क्षमताको होटल निर्माण गर्दैछौं, जसको नाम रिसोर्ट बाई मनकामना केबलकार नाम राखेका छौं, यसमा स्विमिङ पुल, रेष्टुरेन्ट, कन्फ्रेन्स हल हुनेछ, केबलकारमा आउने कुल मान्छेको ३ प्रतिशत मान्छे होटलमा आए भने होटल राम्रैसँग चल्छ। होटलले आन्तरिकसँगै वाह्य पर्यटक भित्र्याउनका लागि पनि महत्पूर्ण भूमिका खेल्ने उनको भनाइ छ । अहिले मनकामना केबलकारमा यात्रा गर्नेहरुको पनि संख्या बढ्दै गएको छ । उनका अनुसार दैनिक ३ हजार ५ सय बढी मानिसले केबलबार यात्रा गर्ने गरेका छन् । उनका अनुसार २ वर्षभित्र निर्माण सकेर होटल सञ्चालन गर्ने तयारी छ ।
मनकामना दर्शन प्रालिले मनकामनामा केबलकार सञ्चालन गरेपछि स्थानीयहरुको जीवनस्तर सुध्रिएको छ । स्थानीय उत्पादनले बजार पाएको छ । अधिकांश मानिसहरु स्वरोजगार बनेका छन् । धेरैले रोजगारी पाएका छन् । आन्तरिक पयर्टकको घुइँचो छ । ‘आन्तरिक पर्यटक बढाउनमा हामीले धेरै सहयोग गरेका छौं, केबलकार सञ्चालनमा आएपछि राजमार्गमा पनि धेरै होटल÷रेष्टुराँहरु खुले, स्थानीय उत्पादनले बजार पाएको छ, कतिपयको उत्पादन मनकामना मन्दिरमै बिक्छ,अब हामीले मनकामना धार्मिकसँगै पर्यटकीय गन्तब्य पनि हो है भन्ने सन्देश दिन खोजेका छौं । मनकामना दर्शन प्रालिले ४६ करोडको लगानीमा अब मनकामनामै सुविधा सम्पन्न होटल खोल्दैछ भने अर्को ठाउँमा पनि केबलकार निर्माण गर्ने जनाएको छ । नयाँ निर्माण हुुने केबलकारलाई पब्लिकमा लैजाने योजना रहेको पनि उनी सुनाउँछन् । मनकामनाको भने अहिले दोस्रो बजारमा सूचिकृत गराउने कुनै तयारी नभएको उनले बताए । अहिले मनकामना केबलकारको मर्मत सम्भार पनि भइरहेको छ । जसका लागि ८ करोड रुपैयाँ खर्च भइसकेको छ भने अझै ४० करोड मर्मतमा लाग्ने कम्पनीको भनाइ छ । कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गरेको छ । केबलकारको अहिले चरणवद्ध रुपमा काम भइरहेको पनि निर्देशक श्रेष्ठले बताए । सुरुमा ६५ करोड रुपैयाँ लगानी लगाएर सुरु भएको मनकामना केबलकारले अहिले मासिक करोडौं कमाउँछ । गत आर्थिक वर्षमा पर्यटनतर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनी मनकामना बनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *