इन्भेष्टमेण्ट मेगा बैंकको एकीकृत कारोबार २७ गते

काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सञ्चालक समीतिको टुंगो लागेको छ । मर्जर प्रक्रियामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकीकृत कारोबार पश्चात् बन्ने सञ्चालक समितिको टुंगो लागेको एक मर्जर कमिटि सदस्यले बताए । मर्जरपश्चात् बन्ने बैंकको सञ्चालकमा इन्भेष्टमेन्ट बैंकबाट ४ जना र मेगा बैंकबाट ३ जना सञ्चालक बन्ने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडेलाई बनाउने सहमति भएको छ । उनी हाल नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष समेत हुन् । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकबाट प्रजन्यराज भण्डारी र कवि टिव्रेवाला मर्जरपश्चात् सञ्चालक बन्नेछन् । त्यस्तै मेगा बैंकबाट गोपाल खनाल, मुक्तिराम पाण्डेय र मदन कुमार आचार्य मर्जरपश्चात् सञ्चालक बन्नेछन् । नेपाल इन्भेष्टमेन्ट बैंकले एक जना सञ्चालक भने टुंगो लगाउन बाँकी रहेको छ । मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योतिप्रकाश पाण्डेय बन्नेछन् । साथै, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भने मेगा बैंकले पाउने सहमति भएको छ । साथै एकीकृत कारोबारको मिति पनि तय भइसकेको छ । पुस २७ गते दुवै बैंकबीच एकीकृत कारोबार हुने मेगा बैंकका सञ्चालक गोपाल खनालले जानकारी दिए । ‘नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार पुस २७ गतेका दिन हुन्छ, सञ्चालक समितिको व्यवस्थापन, कर्मचारीको सेवा सुविधा लगायतका सबै व्यवस्थापन भइसकेको छ, राष्ट्र बैंकले अन्तिम स्वीकृति दिइसकेको छ, अब एकीकृत कारोबारको तयारीमा जुटेका छौं,’ उनले भने । राष्ट्र बैंकको गत बिहीबार बसेको संचालक समितिको बैठकले दुवै बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर प्रारम्भिक सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । स्वाप रेसियो तलमाथि भएपनि दुवै बैंकका कर्मचारीको सेवा सुविधा र पदीय हैसियत भने समान हुने खनालले बताए । दुई बैंकबीच कर्मचारीको समायोजनको विषय खासै समस्या नरहेको उनको भनाइ छ । अहिले कर्मचारीको जुन सेवा सुविधा र पद छ, कायमै रहन्छ, हामीले स्ववेच्छिक अवकास प्याकेज (भिआरएस) ल्याउनु पर्ने आवश्यकता छैन, अन्य बैंकहरुमा देखिएको जस्तो विवाद हाम्रोमा छैन,’ खनालले विकासन्युजसँग भने, ‘कर्मचारीको सेवा सुविधा र खाइपाई आएको सुविधा घटाउन पाइएन, हाल कार्यरत पद पनि घटाउन मिल्दैन, अन्य सबै व्यवस्थापन गर्न सहज भएको छ, हामीले कुनै भिआरएस लागू गरेको छैन । कर्मचारीलाई मिलाएर लैजान्छौं । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब रुपैयाँ छ भने मेगा बैंकको १६.१२ अर्ब रुपैयाँ छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३४.४३ अर्ब रुपैयाँ पुग्नेछ । मर्जरपश्चात् उपत्यका भित्र मात्रै ८८ वटा शाखा हुनेछ । उपत्यका बाहिर पनि बलियो उपस्थिति हुने गरी शाखा कार्यालय २०२ र एटीएम संख्या २७९ वटा पुग्नेछन् । जुन सबैभन्दा बढी शाखा हुने बैंकको सूचीमा तेश्रो हो । त्यस्तै, कर्मचारी संख्या ३ हजार ३१५ जना, एक्स्टेन्सन काउण्टर ५९ र ग्राहक संख्या झण्डै ३० लाख पुग्नेछन् । मर्जरपश्चात् जगेडा कोष १९ अर्ब ७५ करोड रुपैयाँ, निक्षेप संकलन ३ खर्ब ४६ अर्ब ८५ करोड रुपैयाँ र कर्जा प्रवाह ३ खर्ब १९ अर्ब ४४ करोड रुपैयाँ पुग्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *