एन्फाद्धारा नयाँ सिजनको नकआउट फुटबल तालिका सार्वजनिक


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नयाँ सिजनका लागि मोफसलका नकआउट फुटबल प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । फरक फरक पाँच मिति तोकेर माघ २६ देखि चैत १८ गतेसम्म आयोजना हुने ११ वटा नकआउट प्रतियोगिताको मिति निर्धारण गरेको हो । माघ २६ देखि फागुन ६ गतेसम्म सर्लाहीमा राजर्शी जनक गोल्डकप र महोत्तरीमा मेयर कप फुटबल आयोजना हुनेछ । माघ २९ देखि फागुन ९ गतेसम्म मकवानपुरमा मकवानपुर गोल्डकप आयोजना हुनेछ । पहिलो मितिमा परेका यी तीन प्रतियोगितामध्ये ए डिभिजन टिमले बढीमा दुईवटामा मात्र सहभागिता जनाउन पाउनेछन् । दोस्रो मितिअनुसार फागुन ७ देखि १६ गतेसम्म झापामा भद्रपुर गोल्डकप र रुपन्देहीमा तिलोत्तमा गोल्डकप हुँदैछ ।

फागुन ११ देखि २० गतेसम्मलाई तेस्रो मिति निर्धारण गरिएको थियो । यो समयमा फागुन ११ देखि १७ सम्म काठमाडौंमा केपी ओली कप र फागुन १३ देखि २० सम्म सुनसरीमा बुढासुब्बा गोल्डकप आयोजना हुँदैछ । त्यसपछि दुई साता काठमाडौंमा ए डिभिजन लिगका पाँच चरणको खेल सन्चालन हुँदैछ । फागुन १९ देखि चैत ४ गतेसम्मका लागि ए डिभिजन लिग हुनेछ । चैत ४ देखि ११ गतेसम्मको समय नकआउट प्रतियोगिताका लागि एन्फाले दिएको चौथो मिति हो । यो समयमा इलाममा माइभ्याली गोल्डकप र सुनसरीमा इटहरी गोल्डकप आयोजना हुनेछ । पाँचौं मितिका रुपमा चैत ९ देखि १८ गतेसम्मको समय छ । यो समयमा मोरङमा विराट गोल्डकप र बारामा सिमरा गोल्डकप आयोजना हुनेछ । ए डिभिजन टिमले एउटा मितिमा एउटामात्र प्रतियोगिता खेल्न पाउने नियम कडाइका साथ लागू गर्ने एन्फाले बताएको छ । चैत ४ मा ए डिभिजन लिगलाई विश्राम दिएर क्लबहरुलाई नकआउट प्रतियोगिताका लागि उपलब्ध गराइनेछ । त्यस समयमा ए डिभिजन क्लबमा आवद्ध भएका खेलाडीहरुले सोही क्लबबाट मात्र नकआउट प्रतियोगिता खेल्न पाउने पनि एन्फाले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *