मधेसमा कांग्रेसको खम्बा मानिने रिजाललाई उद्योग मन्त्रालयको जिम्मा

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य रमेश रिजाल उद्योगमन्त्री बनेका छन् । मंसिर ४ गतेको निर्वाचनमा रिजाल पर्सा ४ बाट विजयी भएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाका अत्यन्त विश्वास पात्र मानिने रिजाल मधेसमा कांग्रेसका खम्बा नै मानिन्छ । साढे चार दशक लामो राजनीतिक जीवनमा रिजाल पहिलोपल्ट मन्त्री बनेका हुन् । कांग्रेस विभाजित भएर कांग्रेस प्रजातान्त्रिक बन्दा पनि रिजाल देउवासँगै रहेका थिए ।

उनी २०४८ र २०५१ को संसदीय निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए । २०१५ सालमा संसदका उम्मेदवार रहेका आफ्ना बुबाबाट प्रेरित रिजाल विद्यार्थी अवस्थाबाटै राजनीतिमा संलग्न भएका हुन् ।रिजालले कांग्र्रेस पर्सा जिल्ला सचिव र उपाध्यक्षका रूपका काम गरिसकेका रिजाल अहिले मधेस प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । राजनीतिक संघर्षका क्रममा २०२९, २०३० र २०३६ सालमा गरी उनले तीन वर्ष जेल जीवन बिताएका थिए ।

रिजालले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रका स्नातक गरेका छन् । उनी राजनीतिबाहेक व्यापार र हेल्थ असिस्टेन्टसम्बन्धी तालिममा प्रत्यक्ष–अप्रत्यक्ष सम्बद्ध रहँदै आएका छन् । पछिल्लो समय नेपालमा उद्योग मन्त्रालय पार्टीहरूको प्राथमिकतामा पर्ने गरेको छैन । तर यसपटक कांग्रेसले उद्योग मन्त्रालय आफैंले लिएको छ । अर्थ मन्त्रालय र उद्योग मन्त्रालय आफैंले लिएर यसपटक कांग्रेसले काम गर्ने छनक दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *