मन्त्री नबन्ने घोषणा गरेका खड्का उपप्रधानमन्त्री

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का पार्टीको नेतृत्व गर्दैै सरकारमा गएका छन् । सात वर्षअघि खड्काले आफू अब मन्त्री नबन्ने घोषणा गरेका थिए ।

कांग्रेस सभापति सुशील कोइराला हुँदा खड्का सहमहामन्त्री थिए । तर त्यसबेला उनले अब मन्त्री बन्दिनँ भनेपछि हालका कांग्रेस सभापति शेरबहादुर देउवा निकै रिसाएका थिए ।कतिसम्म भने देउवा र खड्काबीच त्यसपछि लामै समय राम्रो सम्बन्ध भएन । खड्कासँग सम्बन्ध चिसिएपछि देउवाले नेता विमलेन्द्र निधिलाई नजिक बनाए ।

आफूलाई पार्टी सभापति बनाउने बेला खड्काले मन्त्री बन्दिनँ भनेपछि देउवा रिसाएका थिए । तर १३औं महाधिवेशनमा पूर्णबहादुर खड्काकै सहयोगमा देउवा सभापतिमा निर्वाचित भए । त्यसपछि खड्का र देउवाको सम्बन्ध पुनः सुध्रिएको हो ।
कांग्रेसको १३औं महाधिवेशनपछि भने खड्का निरन्तर देउवाको साथमा छन् । बरु विमलेन्द्र निधिले गुट फेरे ।

१४औं महाधिवेशनमा निधि सभापतिमा उठे । त्यसबेलादेखि देउवा र निधिको सम्बन्ध चिसिएको मात्र होइन, हार्दिक छैन । दोस्रो चरणको सभापतिको मतदानमा निधिले देउवालाई समर्थन गरेका थिए । जसको गुण देउवाले प्रतिनिधिसभा सदस्यमा समानुतिक प्रणालीबाट निर्वाचित गरिदिए ।

अबदेखि मन्त्री नबन्ने घोषणा गरेका खड्का अहिले उपप्रधानसहित रक्षामन्त्री बनेका छन् । उनको हातका सुरक्षासँग सम्बन्धित मन्त्रालय परेको छ । यसअघि नौपटकसम्म मन्त्री भइसकेका खड्काले गृह मन्त्रालयसमेत सम्हालिसकेका छन् । गृहमन्त्री हुँदा पनि उनी निर्विवाद भएर निस्किएका थिए ।

जंगी स्वभावका खड्काको भागमा पनि सेना हेर्ने रक्षा मन्त्रालय नै परेको छ । आजसम्म मन्त्री बन्दा पनि कतै विवाद र अनियमिततामा नपरेका खड्का उपप्रधानमन्त्रीमा बढुवा भएकोमा कांग्रेसीजन खुसी देखिएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसलाई प्रवेश गराउने प्रमुख खेलाडी खड्कालाई नै मानिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *