तनहुँको डुम्रेमा गठबन्धनको चुनावी सभा, प्रधानमन्त्री प्रचण्ड, देउवा, नेपालले सम्बोधन गर्ने

काठमाडौं । सत्तारुढ गठबन्धनले तनहुँको डुम्रेमा बुधबार चुनावी सभा आयोजना गर्ने भएको छ । तनहुँ १ मा गठबन्धनको साझा उम्मेदवार गोविन्द भट्टराईको चुनावी प्रचारका लागि तीन दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।

डुम्रेको चुनावी सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड आज बारा पुगेका छन् । उनी निर्माणाधीन फास्ट ट्रयाकको अवलोकन र निरीक्षणका लागि त्यहाँ पुगेका हुन् । प्रचण्डले बारामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । आज काठमाडौं फर्केर प्रधानमन्त्री भोलि तनहुँ जाने भएका छन् ।

बारा २ मा गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादव छन् । चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठ र तनहुँ १ मा कांग्रेसकै गोविन्द भट्टराई उम्मेदवार बनेका छन् । माओवादीले महासचिव देव गुरुङ र एकीकृत समाजवादीले किसान श्रेष्ठलाई तनहुँ १ मा चुनावी कमान्डर तोकेका छन् । कांग्रेसले महामन्त्री थापालाई कमान्डर बनाएको छ ।

आज आँबखैरेनीमा गठबन्धनको चुनावी सभा छ । जहाँ कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा माओवादी महासचिव देव गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति रामचन्द्र पौडेलको चुनावी क्षेत्र भएकाले पनि तनहुँ १ मा कांग्रेसले आफ्नो सम्पूर्ण शक्ति लगाएको छ । कांग्रेसलाई गठबन्धनका माओवादी र एकीकृत समाजवादीले कसिलो साथ दिएका छन् । त्यसैले कांग्रेस उम्मेदवार भट्टराईको जित सुनिश्चित रहेको बताइन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *