नीति तथा कार्यक्रमबारे कांग्रेस सभापति देउवा मौन

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ । राष्ट्रिय सभाले नीति तथा कार्यक्रम पारित गरिसकेको छ । अब प्रतिनिधिसभा बैठकले पास गरेपछि सरकारलाई बजेट ल्याउन बाटो खुल्छ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा सत्ता पक्ष र विपक्षी दलका सांसदले आफ्ना धारणा राखिरहेका छन् । सबैको धारणा सुनिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने र सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गर्ने छन् । जेठ १५ गते आगामी आर्थिक वर्षको आयव्यय संसदमा प्रस्तुत गर्नैपर्ने डेडलाइन छ ।

सदनमा नीति तथा कार्यक्रममाथि छलफलभन्दा पनि अधिकांश सांसद नक्कली शरणार्थी प्रकरणमै केन्द्रित भएका छन् । एक दुई मिनेट नीति तथा कार्यक्रममा टिप्पणी गर्ने र बाँकी समय शरणार्थी प्रकरणमा भइरहेको विषयमै खर्च हुने गर्दा छलफल प्रभावकारी भइरहेको देखिन्न । सत्ता पक्षकै सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गरेका छन् । प्रतिपक्षी सांसदहरूले त पुनर्लेखन गरौं भनेर प्रस्तावसमेत गरेका छन् ।

नीति तथा कार्यक्रममाथि एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादवले आ–आफ्ना धारणा राखिसकेका छन् । तर कांग्रेस सभापति शेरबहादुर देउवाले भने अहिलेसम्म आफ्नो धारणा राखेका छैनन् ।

उनी सरकारको नीति तथा कार्यक्रमलाई लिएर मौन छन् । कांग्रेस महामन्त्री गगन थापाले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएका छन् । उनले परम्परागत नीति तथा कार्यक्रमको कुनै औचित्य नभएको बताएका छन् । यस्तै कार्यक्रम आए अर्को वर्षदेखि संसदमा उपस्थित हुनुपर्ने कुनै कारण नभएको उनको भनाइ छ ।

सभापति देउवा भने अझै किन मौन भन्ने खुलेको छैन । शरणार्थी प्रकरणले सभापति देउवा अत्यन्त चिन्तित देखिएको उनी निकट स्रोतले जनाएको छ । अब नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुने बेला मात्र देउवा सहभागी हुने बुझिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *