नागरिकता प्रमाणीकरणबारे रास्वपामा दुई धार, रविको विरोध, मनिष झाको स्वागत

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण भएसँगै यतिबेला विभिन्न दल र तिनका नेताहरूले आ–आफ्नो धारणा सार्वजनिक गर्ने क्रम सुरु भएको छ । एमालेले औपचारिक रूपमा केही बोलेको छैन । तर तिनका नेताहरू सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायतले राष्ट्रपतिले नागरिकता विधेयक हतारमा प्रमाणीकरण गरेर संविधानको उल्लंघन गरेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस र माओवादीले औपचारिक रूपमा केही बोलेका छैनन् । दुवै दल सरकारमा छन् । कांग्रेसका नेता विमलेन्द्र निधिले स्वागत गरेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपतिले राष्ट्रघात गरेको आरोप लगाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीमा भने नागरिकता विधेयक प्रमाणीकरणबारे स्पष्ट दुई धार देखिएको छ । सभापति रवि लामिछाने नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा उत्रिएका छन् । संसदमा छलफल नगराई विधेयक पारित गराएको भन्दै उनले आपत्ति जनाएका छन् । ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरीत, लोकतान्त्रित संसदीय मूल्य मान्यता र राष्ट्रहितविरूद्ध छ,’ रविको टिप्पणी छ ।

तर सोही पार्टीका सांसद मनिष झाले भने नागरिकता विधेयक प्रमाणीकरण भएकोमा खुसी व्यक्त गरेका छन् । उनले सबैले संवैधानिक अधिकारी प्रयोग गर्न पाउनुपर्ने भन्दै राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेर ठीक गरेको उल्लेख गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *