लक्ष्मी सनराइज बैंक असार २४ गते एकीकृत कारोबार गर्दै


काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबारको मिति असार २४ गते तय भएको छ । लक्ष्मी बैंकका सञ्चालक दिनेश पौड्यालले दुई बैंकबीच असार २४ गते एकीकृत कारोबार हुने बताए । लक्ष्मी बैंकको आइतबार सम्पन्न विशेष साधारणसभाले सनराइज बैंकसँग मर्ज गर्ने विशेष प्रस्ताव पारित गरेसँगै एकीकृत कारोबारका लागि प्रक्रिया अघि बढाएको उनले बताए । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । कसैलाई पनि अफ्ठ्यारो नपर्ने गरी कर्मचारी व्यवस्थापन भइरहेको उनले बताए । ‘साधारणसभाले पारित गरेको पत्र आजभोलि राष्ट्र बैंकमा पठाउँछौं, राष्ट्र बैंकले पनि चाँडै स्वीकृति दिने अपेक्षा छ, त्यसपछि असार २४ गते एकीकृत कारोबार गर्ने तयारी छ,’ उनले भने, ‘सञ्चालक समितिको टुंगो लागिसकेको छ, अध्यक्ष र सीईओ लक्ष्मी बैंकले नै पाउँछ, आन्तरिक कामहरु तीव्र गतिमा भइरहेका छन्, कर्मचारी समायोजनको काम भइरहेको छ, दुवै बैंकको सिस्टम एउटै सफ्टवेयरमा प्रयोग भएकाले सहज हुन्छ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई दोस्रो वरियता दिने सहमति भएको उनले बताए । यदि कुनै कर्मचारीलाई चित्त नबुझे संयुक्त मर्जर कमिटिले भिआरएस सुविधा ल्याउने उनको भनाइ छ । कर्मचारी समायोजन भने बराबरी हैसियतमा हुने सहमति भएको छ । दुवै बैंक समान हैसियतमा मर्जरमा जान लागेका हुन् ।

मर्जपश्चात् बैंकको सञ्चालक समिति अध्यक्ष लक्ष्मी बैंकबाट रमण नेपाल बन्ने छन् । यद्यपी सञ्चालक समितिको पहिलो बैठकले अध्यक्ष नियुक्त गर्नेछ । साथै, लक्ष्मी बैंकका सीईओ अजयबहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुने छन् । मर्जरपश्चात् पहिलो साधारणसभासम्मको लागि लक्ष्मीबाट ४ जना र सनराइजबाट तर्फबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकबाट हालका अध्यक्ष रमण नेपाल, सञ्चालकहरु डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । यस्तै, सनराइज बैंकबाट हालका अध्यक्ष मोतीलाल दुगड, इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् । पहिलो साधारणसभा सम्पन्नपछि बन्ने सञ्चालक समिति ५ सदस्यीय हुने बैंकले जनाएको छ । जसमा २ जना संस्थापक, २ जना सर्वसाधाण र १ जना स्वतन्त्र सञ्चालक रहने लक्ष्मी बैंकले बताएको छ । मर्जर पश्चात् चुनौति बढिरहेको भएपनि त्यसलाई सामना गरेर अघि बढ्ने अध्यक्ष रमण नेपालको भनाइ छ ।

‘समान हैसियतमा कर्मचारी समायोजन गर्ने भनेर सम्झौता गरेको हो, मर्जरपछि पनि कर्मचारीमा असमान व्यवहार हुँदैन, उनले भने, ‘साथीहरुले अध्यक्ष भनेर बधाइ तथा शुभकामना दिनु भएको छ, मर्जरपछि नै अध्यक्ष टुंगो लाग्नेछ, अहिले शुभकामना मात्रै स्वीकार गर्छु । दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ७ गते अन्तिम सम्झौता भएको थियो । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । मर्जर प्रक्रियामा झण्डै २ करोड रुपैयाँ खर्च हुने बैंकले जनाएको छ । सनराइज बैंकले पनि आइतबार वार्षिक साधारणसभा गरेको छ । सनराइज बैंकका सेयरधनीले पनि लक्ष्मीसँग मर्जरमा जानका लागि अनुमोदन गरेका हुन् ।मर्जरपश्चात् बैंकको चुुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँ बढी हुनेछ । लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकको जगेडा कोष १२ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ । मर्जरपछि लक्ष्मी सनराइज बैंकको निक्षेप २ खर्ब ८१ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ५० अर्ब रुपैयाँ पुग्नेछ । साथै, बैंकको शाखा सञ्जाल २७२ वटा पुग्ने छन् भने कर्मचारी संख्या ३ हजार १७० जना पुग्ने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *