साइकल यात्रीमाथि कुटपिट गर्ने १ लाख धरौटीमा छुटे


काठमाण्डौं । विराटनगर महानगरपालिका ४ दूध फारम चोकमा साइकल यात्रीमाथि कुटपिट गर्ने विराटनगर ४ का आयुष भेटवाललाई न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । आइतबार उनी विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो । सोमबार थुनछेक बहसपछि १ लाख धरौटीमा छाड्ने आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

अदालतको आदेशपछि धरौटी बुझाएर भेटवाल छुटेका छन् । मुद्दामा प्रतिवादी बनाइएका १७ वर्षका किशोरलाई पक्राउ गर्नका लागि अदालतबाट ३५ दिने म्याद जारी गरेको छ । साइकलमा घर फर्किरहेका बेला विराटनगर ६ का २७ वर्षीय पवनकुमार साह हलुवाईमाथि भेटुवालले गत असार २० गते राति ८ बजे दूध फारम चोकमा मुक्का प्रहार गरेका थिए । गलत दिशाबाट साइकल कुदाएको भन्दै बा १५ च ३४४५ नम्बरको कारमा सवार भेटवालले कारबाट ओर्लिएर साइकलमा हिँड्दै गरेका साहमाथि मुक्का प्रहार गरेका थिए । साहको खुट्टामा समातेर घिसार्दै भेटवालले सडक किनारमा छाडेका थिए । साहले प्रयोग गर्ने साइकल आयुषका भाइ (काकाको छोरा) कुशलले सडक किनारमा फालिदिएपछि उनीहरु गएका थिए । सडक किनारमा बेहोस भएका साहलाई प्रहरीले उद्धार गरी कोशी अस्पताल पुर्‍याएको थियो ।

उनी उपचारपछि घर फर्किएका छन् । घटनापछि फरार रहेका आयुष भोलिपल्ट असार २१ गते पक्राउ परेका थिए । उनका भाइ भने अझै फरार छन् । कारमा सवार भेटवाल दाजुभाइले कुटपिट गर्दा कार चालक तेह्रथुमको फेदाप गाउँपालिका ४ का ३० वर्षीय रोशन कार्की गाडीमै थिए । प्रहरीले भेटवाल दाजुभाइसँगै कार चालक विरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सरकारी वकिलको कार्यालयले कार्कीलाई मुद्दा नचलाउने निर्णय गरेको थियो । आयुषका १७ वर्षीय भाइका विरुद्ध भने ज्यान मार्ने उद्योग मुद्दाको मतियारका रूपमा मुद्दा दर्ता भएको थियो । गलत दिशाबाट साइकलमा आइरहेका साहले गाली गरेपछि आवेशमा आएर आफूले मुक्का प्रहार गरेको भेटवालले प्रहरीसमक्ष बयान गरेका थिए । कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *