दुई कैदीको हत्या आरोपमा पाँच प्रहरीसहित १३ जनाविरुद्ध मुद्दा दर्ता

विराटनगर । सङ्खुवासभा सदरमुकाम खाँदबारीस्थित जिल्ला कारागारभित्र भएको दुई जना कैदीको हत्या आरोपमा प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ ।

कैदीको हत्या प्रकरणमा संलग्न भएको पाइएका प्रहरी सहायक निरीक्षक (असई)सहित पाँच प्रहरी तथा चौकीदारसहित सात जना कैदीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरूविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धानलाई थप अघि बढाइएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । कारागारमा रहेको सीसीटीभी फुटेज अध्ययन तथा प्रत्यक्षदर्शीहरूको बयानका आधारमा घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाइएको छ ।

प्रारम्भिक अनुसन्धानपछि प्रहरीले ज्यान मार्ने मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ । दुई साताअघि भएको कुटपीटबाट कारागारमा रहेका सङ्खुवासभाका विनोद तोलांगी र नुवाकोट, ककनीका आकाश बलामीको मृत्यु भएको थियो ।

शौचालयको रड तोडेर राति कारागारबाट भाग्न खोज्दा ती दुई जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएका थिए । त्यसपछि उनीहरूमाथि कुटपिट भएको थियो ।

मृतकका आफन्त र अधिकारवादी संस्थाहरूले प्रहरीको यातनाका कारण उनीहरूको मृत्यु भएको भन्दै दोषीमाथि कारबाही गर्न माग गर्दै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *