मधुशालामा गोली चल्दा चार जनाको मृत्यु

लस एन्जल्स।अमेरिकाको क्यालिफोर्निया राज्यको एक मधुशालामा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बन्दुकधारीसमेत चार जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।

गोली हानाहान भएका बेला सुरक्षा अधिकारी पनि नजिकै रहेकाले घटनामा आक्रमणकारी पनि मारिएको बताइएको छ । घटनामा कुनै पनि सुरक्षा अधिकारी घाइते भएका छैनन् ।

“घटनास्थलमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ, गोली हान्ने व्यक्ति पनि मारिएको छ । घाइते छ जनालाई अस्पतालमा लगिएको छ,” ओरेन्ज काउन्टीका शेरिफले सामाजिक सञ्जालमा भनेका छन् । स्रोतलाई उद्धृत गर्दै ओरेन्ज काउन्टीले घरायसी विवादका कारण घटना भएको बताएको छ । वारुणयन्त्र विभागका वरिष्ठ अधिकारी ब्रायन फेनेसीले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताएका छन् ।

बन्दुक हिंसाबाट संयुक्त राज्य अमेरिका आक्रान्त भएको छ । बन्दुक आक्रमणमा परी यो देशमा हरेक वर्ष हजारौँले ज्यान गुमाउँदै आएका छन् । आजको गोलीकाण्ड लस एन्जलसबाट करिब ७० किलोमिटर दक्षिणपूर्वमा रहेको कुकस कर्नर बारमा भएको हो । यो स्थान ‘बाइकर’ हरूको लागि लोकप्रिय मानिन्छ ।

आक्रमणकारी कानुन कार्यान्वयन गर्ने पूर्वअधिकारी भएको अनुमान गरिएको छ । घटनास्थलबाट एउटा हतियार पनि बरामद गरिएको छ ।

अमेरिकामा गोलीकाण्डका घटना नियमित रुपमा हुने गरेका छन् भने सञ्चारमाध्यममा बन्दुक हिंसाका समाचार प्रमुख शीर्षक बन्ने गरेका छन् । यो महिनाको पहिलो दिनसम्मको तथ्याङ्कअनुसार यो वर्ष २५ हजार एक सय ९८ जनाले ज्यान गुमाएका छन् ।

बन्दुक हिंसाको अभिलेख राख्ने संस्था गन भइलेन्स आर्काइभले सरदर दैनिक एक सय १८ जना मारिने गरेको जनाएको छ । सात महिनाको यो अवधिमा आठ सय ७९ किशोर र एक सय ७० बालबालिकाको मृत्यु भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *