एमाले कर्णाली अधिवेशन : मतदान समयमा सुरु हुन सकेन

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन ।

शनिबार बिहान ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र मध्यान्ह १२ बजेदेखि मतदान सुरु गर्ने तालिका थियो । तर, शनिबार दिउँसोसम्म पनि मतदान सुरु हुन नसकेको हो । अहिलेसम्म पनि उम्मेदवारहरुको अन्तिम नामावलीसमेत निकालिएको छैन । अधिवेशन प्रयोजनका लागि गठन गरिएको निर्वाचन आयोगले निश्चित समयअनुसार कार्यतालिका पछ्याउन नसकेको हो ।

केही नेताहरुका अनुसार मतदान प्रक्रिया अझै लम्बिने सकिने छ । शनिबार बेलुकादेखि मात्र मतदान सुरु हुने सम्भावना रहेको अध्यक्ष मण्डलका एक सदस्यले बताए । उनका अनुसार छलफल जारी छ, कतिले उम्मेदवारी फिर्ता लिने र कतिले निर्वाचन लड्ने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको छ । उनले मतदान आज बेलुकादेखि मात्र सुरु हुने सम्भावना रहेको बताए ।
प्रदेश कमिटीका निवर्तमान अध्यक्ष विनोदकुमार शाहले भने निर्वाचन प्रक्रिया सुरु भइसकेकाले सहमतिको प्रयास नभएको बताए । कमिटीमा जान चाहने प्रतिनिधिबीचको आन्तरिक छलफल चलिरहेकाले तोकिएअनुसार तालिका कार्यान्वयन हुन नसकेको प्रदेश कमिटीका निवर्तमान सचिव टेकराज पछाईले बताए ।

शुक्रबार प्रकाशित निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो १२ बजेदेखि ६ बजेसम्म मतदानको समय तोकिएको थियो । शनिबार राति नै मतगणना गरी आइतबार बिहान परिणाम सार्वजनिक गर्ने कार्यतालिका छ । एमाले कर्णालीको नयाँ नेतृत्वका लागि अहिलेसम्म अध्यक्षमा तीन जनाको उम्मेदवारी छ । शुक्रबार पाँच जनाले उम्मेदवारी दिएकामा दुई जनाले फिर्ता लिएका छन् ।

कालीकोटका प्रेमबहादुर सिंह र दैलेखका राजबहादुर शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । अब मिनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकायाको उम्मेदवारी अध्यक्षमा कायम छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *