केसी र बस्नेतविरुद्ध प्रहरीमा उजुरी


काठमाडौं । एनआरएनएको कार्यालयमा युवा संघको कार्यक्रम किन गरेको भनी प्रश्न उठाउँदा आफूमाथि कुटपिट भएपछि ओम शर्माले काठमाडौंको दरबारमार्गस्थित प्रहरी वृत्तमा एनआरएनएका अध्यक्ष बद्री केसी र नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध उजुरी दिएका छन् । एनआरएनए समानान्तर कमिटीका अध्यक्ष आरके शर्मामाथि युवा संघका कार्यकर्ताले मंगलबार दुर्व्यवहार गरेका थिए भने ओम शर्मामाथि कुटपिट गरेको उनीहरुको दाबी छ । संघको कार्यालय बालुवाटारमा भएको कार्यक्रममा सहभागी हुन पुगेका शर्मामाथि युवा संघका कार्यकर्ताले दुर्व्यवहार गरेको उनी निकट स्रोतले जानकारी दिएको छ । कार्यालयमा भएका आरके शर्मालाई युवा संघका कार्यकर्ताले तत्काल कार्यालय छाडेर बाहिर जान चेतावनी दिएका थिए । त्यसलगत्तै विवाद बढाउन नखोजी शर्मा बाहिरिएको उनी निकट स्रोतले जानकारी दिएको छ । उहाँमाथि अपशब्द बोल्दै बाहिर जान भनिएपछि उहाँले विवाद बढाउन चाहनुभएन ।

तर उहाँ निकट ओम शर्मालाई भने कुटपिट भएको छ । एनआरएनएको कार्यालयमा युवा संघको कार्यक्रम किन भनी आफूले प्रश्न गरेको र आफू विदेशमा रहेर पत्रकारिता गरिरहेको ओम शर्मा बताउँछन् । उनी भन्छन्, केन्द्रीय कार्यालयमा के भइरहेको छ भनेर बुझ्नका लागि जानकारी लिन आएको थिएँ । कन्फ्रेन्स हलमा आउँदा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, बद्री केसीलगायतको कार्यक्रम भइरहेको थियो । एनआरएनएको कार्यालयमा युवा संघको कार्यक्रम किन ? भनेर प्रश्न गरेपछि ममाथि कुटपिट भएको हो । ममाथि कुटपिट हुन थालेपछि बद्री केसी भाग्नुभयो । एनआरएनएको भर्खरै सम्पन्न भएको महाधिवेशनको विवाद अझै सकिएको छैन । महाधिवेशनमा धाँधली गरेर केसी निर्वाचित भएको भन्दै शर्माले समानान्तर समिति गठन गरेका छन् । उनले केसीकै नेतृत्त्वमा रहेको समितिले गरेको ई–भोटिङमा धाँधली गरिएको बताउँदै आएका छन् । कुटपिटपछि शर्मा उपचाररत छन् । आरके शर्मा निकटका एक समूह प्रहरीमा आएर मौखिक उजुरी दिएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार मौखिक उजुरी आएको र भोलि कार्यालयको सीसीटीभी हेरेर अनुसन्धान थाल्ने र दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि टोली फर्किएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *